नेवार समुदायले एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाएको गुँला पर्व आज विधिवत् रुपमा समापन भएको छ ।
नेपाल संवत् अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । यो पर्व चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्यले राससलाई जानकारी दिनुभयो । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।
यो महिनामा क्षमता अनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण कमै भक्तजनमात्र पुगेका थिए ।
राजधानी शहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने गरिन्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् । यस वर्ष भने कोरोनाका कारण स्वयम्भू जाने भक्तजन कमै थिए ।
चावहिल क्षेत्रमा घर घरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको थियो । चावहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भएपनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिएकामा यस वर्ष कोरोनाका कारण सम्भव हुन सकेन ।
गुँला पर्वका अवसरमा विभिन्न बौद्ध विहारमा दीपङ्कर बुद्ध, बुद्धका अन्य सामग्री प्रदर्शन गरिन्छ । यस अवसरमा विभिन्न बौद्ध विहारमा पञ्चरक्षा, प्रज्ञापारमिता पाठ गरिन्छ । ठमेलको भगवान् बहालमा नीलपत्रमा स्वर्ण अक्षरले लेखेको शतसहस्रिका अर्थात् एक लाख श्लोक रहेको प्रज्ञापारमिता ग्रन्थ इच्छुक दर्शनार्थीका लागि देखाइन्छ । गुरुजुबाट यसको पाठसमेत हुन्छ । यो महायान सम्प्रदायका मानिसको ठूलो ग्रन्थ हो । -रासस