पुनर्कर्जाका लागि आवेदन माग : ५ करोडसम्मको पुनर्कर्जा ५ प्रतिशत ब्याजदर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरे अनुसार पुनर्कर्जाका लागि बैंक तथा वित्तिय संस्थासँग आवेदन आह्वान गरेको छ ।

राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन माग गरेको हो ।

चालु मौद्रिक नीति मा एक ऋणीलाई ५ करोडसम्मको पुनर्कर्जा सुविधा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने उल्लेख छ ।

यस्तो पुनर्कर्जा सुविधा पर्यटन क्षेत्र ,औद्योगिक क्षेत्र, शैक्षिक प्रतिष्ठान, निर्माण तथा निर्माण सामग्री उद्योग, यातायात, अस्पताल, ऊर्जा तथा खानी लगायत प्रभावित क्षेत्रका लागि उपलब्ध हुने छ । नकर्जाका लागि आवेदन दर्ता गर्दा नेपाल राष्ट्र बैंक, पुनकर्जा कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचाको आवेदन पेश गर्न केन्द्रीय बैंकले आह्‍वान गरेको छ।

यसका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको निर्णय समेत संलग्न हुनुपर्ने छ ।

पुनर्कर्जा सुविधाका लागि आवेदन दिदाँ शाखा कार्यालयहरुको ठेगाना र सञ्चालन मिति समेत उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

पुनकर्जा सुविधा दिदाँ राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तिय संस्थाको प्राथमिक पुँजीको २५ प्रतिशतसम्म उपलब्ध गराउनेछ भने आवेदनका लागि छनौट भएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने छ । एकभन्दा बढी संस्थामार्फत् कर्जा उपभोग गरेका ऋणीको हकमा एक बैंक तथा वित्तिय संस्था मार्फत मात्र आवेदन भएको सुनिश्चित हुनुपर्नेछ ।

पुनर्कर्जाका लागि आवेदन गरिएको रकममध्ये ७० प्रतिशत लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुनेगरी माग गर्नुपर्ने शर्त केन्द्रिय बैंकको छ ।

आवेदनका लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ ओटा ऋणी समेटिएको हुनुपर्नेछ ।

राष्ट्र बैंकले तोकेको पुँजी कोष पुग्ने बैंक तथा वित्तिय संस्थाले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

ऋणीहरुको हकमा भने उनीहरुले आफूले सेवा लिइरहेको र पायक पर्ने शाखाबाट पुनर्कर्जा सुविधाका लागि निवेदन दिन सक्नेछन् । –रासस


ताजा खबर