यूएफा यूरोपा लिगको उपाधि सेभिलालाई

स्पेनिस क्लब सेभिलाले यूएफा यूरोपा लिगको उपाधि पुनः जितेको छ। गएराति भएको खेलमा सेभिलाले इटालियन क्लब इन्टर मिलानलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै छैटौँ पटक लिग विजेता बनेको हो।

अन्य क्लबभन्दा सबैभन्दा धेरै पटक यूरोपा लिगको उपाधि जितेको सेभिला, यसअघि सन् २०१६ मा लिग विजेता बनेको थियो भने हालसम्म ७ पटक लिगको फाइनलमा प्रवेश गरेको छ। यूरोपा लिगमा पहिलो पटक आमनेसामने भएका सेभिला र इन्टरबीचको हिजोको खेल निकै प्रतिस्पर्धात्मक र रोचक रह्यो। सेभिलाका डिफेन्डर डियगो कार्लोसले पेनाल्टी एरियामा लडाएपछि इन्टरले पेनल्टी पाएको थियो। रोमेलु लुकाकुले पेनल्टीलाई सहजै गोलमा परिणत गरेपछि ईन्टरले खेलको पाँचौँ मिनेटमा नै अग्रता लिन सफल भएको थियो। यससँगै लुकाकुले युरोपियन प्रतियोगिताको ६ खेलमा लगातार गोल गर्दै क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका छन् ।

तर १२ औँ मिनेटमा नै लुक डे जोङले गोल गरेपछि खेल बराबरी पुगेको थियो। ३३ औँ मिनेटमा लुकले फेरि अर्को गोल गरेपछि सेभिलाले २-१ को स्थितिमा पुगेको थियो। तर ३५ औँ मिनेटमा इन्टरका गोडीनले गोल गरेपछि पहिलो हाफको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफको शुरूदेखि नै दुवै टोलीले गोल गर्ने प्रयासहरू गरेका थिए। ७४ औं मिनेटमा सेभिलाका डिएगो कार्लोसले गरेको ओभरहेड किकि लुकाकुको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि सेभिला विजयी बन्न पुग्यो ।

पछिल्लो पटक सन् १९९८ मा लिग विजेता बनेको ईन्टरको २२ वर्षपछि उपाधि जित्ने सपना भने पूरा हुने सकेन। खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनका क्रममा इन्टरका प्रमुख प्रशिक्षक एन्टोनियो कोन्टेले टिमको पराजित भएछि आफू पदबाट हट्न सक्ने बताएका छन् ।


ताजा खबर