पानीको कथामा प्रेमको लेप : गजबको राजनीतिक ब्यङ्ग्य ‘छ माँया छपक्कै’

नेपालमा चलचित्र समीक्षा कमै हुन्थ्यो । कसैले चलचित्र हेरेर लेख्न मन लागे लेख्थे । नत्र समीक्षा लेख्दैनथे । फाट्टफुट्ट समीक्षा लेखिने समयमा पत्रकार दीपेन्द्र लामा उदाए । त्यहीबेला दीपेन्द्रलगायत समकालीनहरूले चलचित्र समीक्षालाई नियमित बनाए । उनको कलमलाई निर्देशक तथा निर्माताहरू छुच्चो मान्थे । हुन पनि उनी चलचित्रलाई ५ स्टारमा शून्य स्टार पनि दिन्थे । चलचित्रकर्मीलाई त्यो पच्दैनथ्यो । र भन्थे ‘क्रुर समीक्षक’ ।

प्रजातन्तन्त्रको पुनरोदय भइसकेको थियो । चलचित्र निर्माण बाक्लै हुन थालिसकेका थिए । तर, चलचित्रमा नेपालीपन भेटिँदैनथ्यो । हिन्दी चलचित्रको फर्मुलामा बन्थे । ती चलचित्रमा दीपेन्द्र भाषाबाहेक नेपालीपन देख्दैनथे । त्यसैले उनी नेपाली भनेर बनिरहेका चलचित्रलाई पूर्ण नेपाली चलचित्र भन्न सक्तैनथे । भाषामात्रै होइन– मौलिक कथा, पटकथा, चरित्र र प्रस्तुति पनि नेपाली हुनैपर्छ भन्थे । त्यही उनको कलमले लेख्थ्यो । त्यही कुरा चलचित्रकर्मीलाई बिझाउँथ्यो ।

कहिलेकाहीँ भुवन केसी दीपेन्द्रको कलम सहन नसकेर घुमाउरो पारामा थर्काउँथे, “दीपेन्द्रजीले मलाई सिकाइदिनुहुन्छ कि चलचित्र कसरी बनाउनुपर्छ भनेर ! सिक्नुपर्यो ।” कहिले विनोद मानन्धर भन्थे, “ यस्तो खालको समीक्षा लेख्नु हुँदैनथ्यो । सारा मान्छेले चलचित्र मन पराएका छन् । तपाईंलाई चाहिँ किन मन परेन ?, आइन्दा यस्तो समीक्षा नलेख्नू । यस्तो समीक्षा लेख्ने अधिकार कसले दियो ? थाहा छ, चलचित्र बनाउन कति गाह्रो हुन्छ ? फिल्मको बारे तिमीलाई के थाहा छ ?”

चलचित्रको रचनात्मक आलोचनात्मक समीक्षा गर्ने दीपेन्द्र अहिले चलचित्र निर्देशक बनिसकेका छन् । उनले जस्तै उनको चलचित्रको रचनात्मक आलोचना अरुले गर्दैछन् अहिले ।

‘घामपानी’ र ‘गोपी’ हुँदै अहिले दीपेन्द्र ‘छ माया छपक्कै’मा आइपुगेका छन् । डेब्यू निर्देशन ‘घाम पानी’ बाट राम्रो तारिफ पाएका उनले ‘गोपी’मा गालीको सामना गरे । रचनात्मक आलोचना सहेका दीपेन्द्रको अहिले ‘छ माया छपक्कै’ हलमा चलिरहेको छ ।

बीपी पौडेल (दीपकराज गिरी) ४२ वर्षका भए । तर विवाह भएको छैन । उनको साथी प्रवीन (जितु नेपाल) लाई पनि विवाह गर्ने औधी रहर छ । युवतीसँग प्रेम सम्बन्धमा पनि छन् । माग्न जान्छन् । केटीका बाउले उमेर, थर, जागिर के हो, सोध्दैनन् । राजनीतिक विचारमा पनि आपत्ति जनाउँदैनन् । तर सोध्छन्– तिम्रो गाउँमा पानी छ ?

गोली कान्छो (केदार घिमिरे)लाई पनि घरजम गर्ने रहर छ । तर समस्या उही । गाउँमा पानी छैन । छोरी दिन कोही तयार छैन ।

महिलाहरुको आधा दिन डोकामा पानी बोक्दै जान्छ । मिरमिरे बिहानमा टर्च लाइट बालेर हिँडेका गाउँभरीका महिलाको लर्को घाम छिप्पिए पछि मात्रै एक गाग्रो पानी लिएर घर आइपुग्छ ।

एकातिर पानीको अभाव अर्कोतिर राजनीतिक दाउपेचको चेपुवामा परेको छ, घडेरी गाउँ । हरेक पाँच वर्षमा चुनाव हुन्छ । घडेरी गाउँका मतदातालाई आफूतिर आकर्षित गर्ने पहिलो एजेन्डा पानी नै बन्छ ।

उमेदवारको जितका लागि सधैँ निर्णायक भोट घडेरी गाउँकै हुन्छ । आशैआशमा पाँच वर्ष व्यतित हुन्छ । तर समस्या जहाँको त्यहीँ । जनयुद्ध सुरु हुन्छ । गाउँभरीका अधिकांश छोरा मान्छे भूमिगत हुन्छन् । जनयुद्ध सकिन्छ । कमेरडहरुको पार्टी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्छ । राजनीतिक सिद्धान्त र विचारबाट अविचलित बीपीका बुवाले हरेक चुनावको सम्मुखसम्म टिकट पाउने चर्चा चल्छ । तर अन्ततः टिकट अर्कैको पोल्टामा पर्छ । टिकट नपाउँदा बीपीका बा जति दुःखी हुन्छन्, त्यो भन्दा धेरै निराश गोली कान्छो हुन्छन् ।

फेरि नयाँ चुनावको तयारी सुरु हुन्छ । निश्चित जस्तै बनेको बीपीका बुवाको टिकट यो पटक पनि अर्कैले उछिट्याउँछ । यही समय पहिला गाउँमा पानी अनि मात्रै विवाह भनेर बसेका बीपीको जिन्दगीमा जल (केकी अधिकारी) प्रवेश गर्छिन् । राजनीतिक शत्रुता रहेको टोड्के गाउँका अध्यक्षकी छोरी जल बीपीको जिन्दगीमा प्रेमिका बनेर आएपछि कथाले गति लिन्छ । त्यसपछि प्रेम, विवाह र राजनीतिले लिने मोड नै चलचित्र ‘छ माया छपक्कै’ को आकर्षण र उत्कर्ष हो ।

चलचित्र जगतका लागि पानीको कथा नौलो होइन । तर नेपालमा भने पानीलाई मुख्य विषय बनाएर चलचित्र बनेका थिएनन् । त्यसैले कथा राजनीतिक–सामाजिक सँगै सामयिक पनि छ ।

कथा बलियो छ । चलचित्रको मेरुदण्ड कथा भन्ने तरिका दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले बुझ्दै गएको ‘छ माया छपक्कै’ले प्रष्ट पार्छ । हसाउनका लागि डाइलग जोडजाड पार्ने प्रवृत्ति दीपकराजले यसमा दोहोर्याएका छैनन् । चलचित्रले ठाउँठाउँमा हसाउँछ । तर त्यो सिचुएसनल कमेडीका रुपमा आउँछ । दीपक–दीपाको ‘छक्का पञ्जा’ सिरिज विषयप्रधान भन्दा पनि हास्य प्रधान थिए । तर ‘छ माया छपक्कै’ विषयप्रधान चलचित्र बन्न पुगेको छ । यसको श्रेय निर्देशनसँगै आफैं कथा लिएर आएका निर्देशक दीपेन्द्रलाई जान्छ ।

जसरी चलचित्रले हाँसो सिर्जना गर्छ, त्यसैगरी गला अवरुद्ध पार्ने प्रयास पनि गर्छ । तर त्यो पर्याप्त छैन । कथामा आवश्यक द्वन्द्व सिर्जना गर्न निर्देशक चुकेका छन् । पानीमा भएको राजनीति चलचित्रमा देखिन्छ । प्रशासनले कसरी अवरोध सिर्जना गर्छ, त्यो पनि देखाउन खोजिएको छ । तर त्यो काफी छैन । चुनाव जितेर गएका जनप्रतिनिधिले पानीका लागि गरेको पहल चलचित्रमा कहीँ कतै देखिँदैन । बरु राजनीतिको उच्च पदमा नपुगेका स्थानीय राजनीतिक कार्यकर्ताको पहल मात्रै देखाइएको छ । सहायक कथाहरुलाई द्वन्द्व सिर्जनाका लागि प्रयोग गर्न सकिन्थ्यो । त्यसका लागि देखाएका पात्रहरु नै पर्याप्त थिए ।

चलचित्र खाने पानीको अभावसँगै जाडिएर आएको प्रेम र राजनीति वास्तविकताको वरिपरि घुम्छ । तर लेखक तथा निर्देशक बजारलाई ध्यान दिन्छन् । फलतः चलचिचत्रमा विस्तारै प्रेम प्रधान भएर आइदिन्छ । दृश्यमा भन्दा संवादमा चलचित्रले जोड दिन्छ ।

लाउड ब्याकग्राउन्ड स्कोरबाट निर्देशकले चलचित्रलाई बचाएका छन् । यद्यपि कथासँग साउन्डमा खेल्ने प्रशस्त ठाउँहरु भने थिए । नेपाली चलचित्रको सबैभन्दा ठूलो समस्या मौलिक साउन्ड भित्र्याउन नसक्नु नै हो । यो मेहनत र खोजी भने निर्देशकले गरेनन् ।

कथा मौलिक छ तर भन्ने शैली ‘छक्का पञ्जा’कै छ । ‘छक्का पञ्जा’ हल्का भएको समीक्षकको आलोचनाबाट भने यो पटक दीपकराज गिरीले आफूलाई बचाएका छन् । यसको हकदार निर्देशक लामा नै हुन् । यसको श्रेय पटकथाकार दीपकलाई पनि जान्छ ।

छोरीले परिवार जीवनभरको राजनीतिलाई दाउमा राखेर विवाहका लागि बुवा र दाइसँग लिएको पङ्गा अस्वाभाविक लाग्दैन । तर चलचित्रमा निर्देशकभन्दा कथा हाबी भएको प्रष्ट देखिन्छ । दीपकको स्टारडमले निर्देशकलाई थिच्छ । अर्थात् दीपकराज गिरी हाबी देखिन्छन् ।

अभिनयका हिसाबले गोली कान्छो (केदार घिमिरे) र जल (केकी अधिकारी) चलचित्रका नायक हुन् । यद्यपि ‘छक्का पञ्जा’ सिरिजका तुलनामा दीपकको अभिनय बलियो छ । राम्रो अभिनय गरेर पनि हिट चलचित्र आफ्नो पोल्टामा पार्न नसकेकी केकीका लागि ‘छ माया छपक्कै’ हिट चलचित्र बन्ने छ ।

दीपक–दीपाको फुल कमेडीबाट मनोरञ्जन लिइरहेका दशर्कले दुई फरक राजनीतिक पृष्ठभूमिका परिवार र तिनै परिवारका छोराछोरीबीचको प्रेमकथा बोल्ने ‘छ माया छपक्कै’ बाट पनि मनोरञ्जन लिनबाट आफूलाई बञ्चित गराएको महसुस गर्ने छैनन् । तर हसाउनकै लागि थोपरिएका अनुप्रासयुक्त डाइलगमा रमाउने दर्शकले भने ‘छक्का पञ्जा’को स्वादमा कमी महसुस गर्न सक्छन् । तर चलचित्रको अन्त्य भने परम्परागत छ ।

दीपक–दीपाले हास्यप्रधान चलचित्रबाट विषयप्रधान चलचित्रमा आफूलाई ढाल्नु र नेपाली चलचित्रमा मौलिकता खोज्दै आफ्ना दर्शकलाई त्यसतर्फ लत बसाउनु भनेको नेपाली दर्शकको चलचित्रप्रतिको चेतना बढाउन योगदान दिनु हो । यअर्थ दीपक–दीपाको यो बाटोको यात्रा लम्बिनु आजको नेपाली चलचित्र बजारको आवश्यकता हो ।

चलचित्रः छ माया छपक्कै
निर्देशन /कथा / दीपेन्द्र लामा
स्क्रिनप्ले /संवाद / दीपकराज गिरी
कलाकारः दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे 


ताजा खबर