विज्ञहरूसँग छलफल स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा भैरहेको कामका सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्चअधिकारीसहित मन्त्री ढकालले भर्चुवल माध्यमबाट स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको हो ।
छलफलमा मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्नुभयो । मन्त्री ढकालले कोभिड १९ नियन्त्रणमा देखा परेका चुनौतिको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताउनुभयो । कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थयकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उहाँहरूको हौसला बढाउनुपर्ने बताउनुभयो ।
छलफलमा सहभागी हुँदै डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितिको संख्या धेरै देखिए पनि संक्रमणको दर घट्दोक्रममा रहेको बताउनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको भन्दै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रा डा जीवन शेरचनले मास्क ठूलो मात्रामा उत्पादन गरेर जनतामा बितरण गर्नुपर्ने बताउनुभयो । उहाँले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियामा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनु पर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निशुल्क बितरणको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले नमुना परीक्षको नतिजा अझै छिटो र व्यवस्थित रूपमा दिनुपर्ने बताउनुभयो ।
छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा डा भगवना कोइरालालले दशै लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकहरूलाइ सहजिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पताल संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा स्वास्थ्य मन्त्रालयकाका तर्फबाट सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा खेमबहादुर कार्की, सहसचिव डा गुणराज लोहनी, प्रवक्ता प्रा डा जागेश्वर गौतम, डा गुणनीधि शर्मा लगायत सहभागी हुनुहुन्थ्यो ।