काठमाडौँमा ४४५ सहित देशभर १२२८ मा कोरोना पुष्टि

आज काठमाडौँ उपत्यका भित्र चार सय ४५ जना सहित थप एक हजार दुई सय २८ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १३ हजार चार सय १३ वटा नमुनाको रियल टाइम पिसिआर परीक्षण गर्दा तीन सय ९४ जना महिला र आठ सय ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँका तीन सय ५७, ललितपुरका ४६ र भक्तपुरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

आज देश भरमा गरी १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमितहरू मध्ये १० हजार छ सय ७१ जना संस्थागत आइसोलेसनमा र सात हजार सात सय ४२ जना होम आइसोलेसनमा रहेका छन् ।

सक्रिय सङ्क्रमित हरू मध्ये कडा लक्षण देखिएका एक सय ४१ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

यसै गरी आज थप नौ सय १७ जना संक्रमण मुक्त भएसँगै हालसम्म २४ हजार दुई सय सात जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।  हालसम्म ५६ प्रतिशत सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ६ जनाको मृत्यु भएपछि कोरोना संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या दुई सय ५७ पुगेको छ ।

आज चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका एक/एक जना महिला तथा सिन्धुपाल्चोक र रुपन्देहीका एक÷एक जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।


ताजा खबर