आजैमात्र पदबाट राजिनामा दिएका अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रालयमा विदाई कार्यक्रम आयोजना गरी औपचारिक रुपमा विदा भएका छन् । दिउँसो बसेको मन्त्रिपषिदको बैठकमा मौखिक रुपमा राजिनामा दिएर मन्त्रालय आएका अर्थमन्त्री डा. खतिवडाले विभागीय प्रमुखहरुसँग संक्षिप्त विदाई कार्यक्रम आयोजना गरेर पुनः प्रधानमन्त्री समक्ष राजिनामा दिएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सहयोग गर्न आफू पदको वास्ता नगरी जुनसुकै ठाउँमा बसेर काम गर्न तयार रहेको बताएका छन् । उनले विदाई कार्यक्रममा भने, ‘मेरो ज्ञान, अनुभवलाई निष्ठापूर्वक प्रयोग हुने ठाउँ जुनसुकै पद वा जिम्मेवारी तथा पदीय जिम्मेवारी बाहिर रहेकै अवस्थामा पनि सहयोग गर्नेछु ।’
अर्थमन्त्री खतिवडाले आफूले गरेका राम्रा कामलाई नतिजामुखी बनाउने अभियानलाई निरन्तरता दिन समेत विभागीय प्रमुखहरुलाई आह्वान गरेका छन् । आजै राजिनामा दिएका अर्थमन्त्री डा. खतिवडाले पुल्चोकस्थित मन्त्री क्वाटरबाट सामानहरु समेत सार्न थालेका छन् । उनले आजै सो क्वाटर खाली गराइसकेका छन् । ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी विवादरहित अर्थमन्त्री डा. खतिवडाले आज पद त्याग गरेका छन् । अन्य मन्त्रीहरुले कुनै काण्ड वा राजनीतिक भागबण्डामा प्रम ओलीको निर्देशनपछि राजिनामा दिएको भएपनि अर्थमन्त्रीकै कारण पार्टीमा चर्को विवाद भएपछि डा. खतिवडा आफैले प्रम ओलीलाई बाहिर बसेर सहयोग गर्ने तर पार्टीभित्र बहस नै भइसकेको अवस्थामा मन्त्री पदमा नबस्ने बताएपछि राष्ट्रिय सभामा बामदेव गौतमलाई लैजाने हिजो सम्बन्धमा हिजो मात्रै पार्टी कमिटीमा निर्णय भएको थियो ।
डा. खतिवडाको सहज बहिगर्मनसँगै शेयर बजारमा उछाल आएको छ । तर, पछिल्लो पटक अर्थमन्त्रीको रुपमा प्रदिप ज्ञवाली आउने चर्चासँगै डा. खतिवडा भन्दा पनि कडा हुने आशंका समेत फैलिन थालेको छ । डा. खतिवडा भन्दा प्रदिप ज्ञवाली चर्का समाजवादी भएकोले शेयर बजारलाई अनुत्पादक क्षेत्र मान्ने हुँदा उनी अर्थमन्त्री भएमा शेयर बजार थप विस्तार हुनुको साटो थप संकुचन हुनसक्ने आशंका गरिएको छ । यद्यपि अबको अर्थमन्त्री को भन्नेआ अझै निर्णय भइसकेको छैन । वामदेव गौतम, सुरेन्द्र पाण्डे वा विष्णु पौडेल अर्थमन्त्री बनेको खण्डमा भने शेयर बजार थप खुकुलो हुने देखिएको छ ।