- प्रा.डा.बद्रीविशाल पोखरेल
‘श्रद्धया क्रियते इति श्राद्ध’अर्थात् श्रद्धाले सम्पन्न गरिने काम नै श्राद्ध हो । दिवंगत पितृहरूको योगदानलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु नै श्राद्धको मूल पक्ष हो । ऋग्वेद, विष्णुपुराण, नृसिंहपुराण र गरुडपुराण आदि ग्रन्थमा श्राद्ध विषयमा सविस्तार चर्चा पाइन्छ । मानव पुर्खाहरूले श्राद्धलगायत अनेक संस्कार र संस्कृति निर्माणमा तत्कालीन सोचअनुसार अनेक प्रयोग, प्रवद्र्धन तथा समसामयिक सुधार गरेको पाइन्छ ।
सोह्र श्राद्ध भनेर भाद्र प्रतिपदादेखि औंसीसम्मका १५ र पूर्णिमाको एक दिन गरी सोह्र तिथिमा गरिने श्राद्धका प्रकार छन् । असोज कृष्ण पक्षका पञ्चमी, नवमी, एकादशी, द्वादशी, चतुर्दशी, अमावास्या शुक्ल प्रतिपदा, औंसीमा गरिनेलाई पार्वण श्राद्ध भनिएको छ । सोह्र श्राद्ध भनेको सबै पितृको साझा श्राद्ध हो भनिएको छ ।
अमुक एक पितृको श्राद्धलाई एकोद्दिष्ट, धेरै पितृलाई सम्झेर गरिने श्राद्धलाई पार्वण वा महालय भनिएको छ । माङ्गलिक कार्य गर्नुअघि आभ्युदायिक श्राद्ध वा वृद्धि श्राद्ध, अमुक इच्छापूर्तिको कामना गरी गरिने श्राद्ध काम्य श्राद्ध, शरीर स्वस्थ राख्न गरिने श्राद्धलाई पुष्टि श्राद्ध, पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्ध एकोद्दिष्ट भनिन्छ । यसरी नै अविवाहित अवस्थामा मृत्यु भएका पितृ, माताका लागि गरिने श्राद्ध, अकाल मृत्यु दुर्घटना र आत्महत्याबाट मृत्यु भएका पितृहरूको गरिने श्राद्धहरूको सविस्तार चर्चा गरिएको छ । विघ्न परेमा र तिथि थाहा नलागेका पितृहरूको स्मृतिमा गरिने तथा मावली बाजेबज्यैको श्राद्धतिथि र विधि फरक देखिन्छ ।
परम्परागत श्राद्धका सकार पक्ष
पद्मपुराण, मनुस्मृतिमा देखावटी, प्रचार गर्ने तथा बडप्पन देखाउन श्राद्ध गरिने विषय होइन भनिएको छ । अझ त्यहाँ त चार दिक्पाललाई फनफनी घुमेर प्रणाम गर्ने र सूर्यलाई एक अञ्जली पानी अर्पण गर्दा र गाईलाई घाँस खुवाउँदा पनि श्राद्ध हुन्छ समेत भनिएको पाइन्छ । साग, फलफूल र न्यूनतम दक्षिणा दिन सकिँदैन, छैन भने सात वा आठवटा तिल जलका साथ अञ्जलीमा लिएर ब्राह्मणहरूलाई दिँदा पनि श्राद्ध हुन्छ भनिएको छ । अझ दुवै हात उठाएर चार दिक्पाल र सूर्यलाई नमस्कार गरेर हे प्रभु ! हात हावामा फैलाइरहेको छु, मेरा दिवंगत पितामाता मेरो भक्तिबाट सन्तुष्ट होउन् भनेर पनि श्राद्ध हुन्छ भनिएको छ । त्यसैगरी आचार्य पण्डित गोस्वामीले स्त्रीहरूलाई पनि श्राद्धको अधिकार शास्त्रले दिएको बताएका छन् । महाभारत अनुशासनपर्वमा भीष्मपितामहले श्राद्धका सम्बन्धमा युधिष्ठिरलाई केही कुरा भनेको बताइन्छ । महर्षि निमीलाई महातपस्वी अत्रिमुनिले श्राद्धसम्बन्धी उपदेश दिएका थिए । वाल्मीकि रामायणमा सीताले पिण्डदान दिएर दशरथको आत्मालाई मोक्ष मिलेको बताइन्छ । विष्णुपुराणमा नित्य, नैमित्तिक, काम्य, वृद्धि, सपिण्डी, पार्वण तथा गोष्ठिजस्ता अत्यन्त सरल श्राद्ध सुझाएको देखिन्छ ।
परिमार्जित श्राद्धको आवश्यकता
श्राद्धलगायत परम्परागत संस्कार तथा संस्कृतिभित्र चरम अन्धविश्वास तथा रुढीवाद विद्यमान छ । श्राद्धका सकारात्मक पक्षलाई ओझेल पारिएको छ । वैदिक सनातन वा हिन्दू धर्म संसारको सर्वप्राचीन धर्मसंस्कृति हो । यसमा मानव सभ्यतालाई समृद्ध बनाउने अनेक विशिष्ट पक्ष छन् तर त्यहाँ अनेकखालका रुढीवादी तथा अन्धविश्वासी पक्ष पनि पर्याप्त छन् । पण्डित समाजले यस धर्म र संस्कृतिका सकारात्मक पक्षभन्दा नकारात्मक पक्षको बढी चर्चा गरेको देखिन्छ । भाग्यमा भए डोकामा दूध दुहे पनि अडिन्छ (भाग्यम् फलति सर्वत्र न विद्या न च पौरुषम्) को बारम्बार चर्चा गरिन्छ तर अल्छेपन मानिसको शरीरमा रहेको सबैभन्दा ठूलो शत्रु हो अर्थात् आलस्यं हि मनुष्याणां शरीरस्थो महान् रिपुः जस्ता अनेकौँ श्रमको महत्व दर्साउने अनेक सूक्ति, उक्ति र आख्यानको खास चर्चा गरिन्न । यसको अर्थ श्राद्धलगायत संस्कारहरूमा विद्यमान सकारहरूलाई स्वीकृत गर्दै नकारहरूलाई कलात्मक हस्तक्षेपमार्फत निषेध गरियो भने मात्र यसले परिवर्तित राजनीतिक प्रणालीलाई सहयोग पुर्याउन सक्छ ।
आधुनिक श्राद्धविधि
आधुनिक श्राद्धविधि भनेको गोष्ठिका रूपमा गरिने श्राद्ध हो । यसमा दिवंगत पुर्खाको फोटो राखेर दियो, कलश र गणेश राखिन्छ । पण्डितद्वारा पितृहरूको पारिवारिक, सामाजिक, शैक्षिक तथा राजनीतिक आदि जे जे भूमिका छन् तिनको व्याख्या गरिन्छ । यसैक्रममा पण्डितले वैदिक धर्म र संस्कृतिका सान्दर्भिक महत्वपूर्ण सूक्ति र उक्तिसहित संक्षेपमा प्रवचन गर्छन् । यस श्राद्धमा परम्परागत श्राद्धका अन्य कुनै विधि र पद्धति अपनाइँदैन । परम्परागत श्राद्धलेभन्दा यसरी समारोहमार्फत दिवंगत पुर्खाको बखान घर परिवार, नातासम्बन्धका बीचमा प्रवाहित गर्न सकिन्छ । नेपालको संविधान २०७३ को भाग ४ को राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व शीर्षक अन्तर्गत धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने उद्देश्य छ ।
२०७७ भदौ १७ गते प्रकाशित प्रा.डा.देवमणि भट्टराईको श्राद्ध संस्कारले कस्तो फल प्राप्त हुन्छ ? भन्ने शीर्षकको एक लेखमा अन्न जलादि पितृले कसरी पाउँछन्, हामीले दिएका वस्तु हाम्रा पितृलाई पु¥याउने कार्यचाहिँ वसु, रुद्र र आदित्य नाम गरेका श्राद्ध देवताले गर्छन् । उहाँहरू श्राद्धस्थलमा बसी साक्षित्व वहन गर्दै हाम्रा पितृहरूसमक्ष पु¥याउने काम गर्नुहुन्छ भनी त्यहीँ उल्लेख छ भन्नुहुन्छ । याज्ञवल्क्यस्मृति आदि कृतिहरूलाई आधार मानेर भट्टराईले श्राद्ध गर्दा पितृहरूले कर्तालाई आयु, सन्तति, विद्या, स्वर्ग, मोक्ष सुखादि प्राप्त हुने जस्ता अनेकौँ आशीर्वाद दिन्छन् पनि भन्नुभएको छ । जहिलेदेखि पारलौकिक आत्मा, स्वर्ग, मोक्ष, वर्णव्यवस्था, आश्रम व्यवस्थाजस्ता अवैज्ञानिक र कपोलकल्पित विचार ल्याइयो, त्यति बेलादेखि नै वैज्ञानिक र भौतिकवादी कोणबाट झण्डै तीन हजार पाँच सय वर्ष अघिदेखि नै यस्तो विचार दरिलोसँग प्रतिरोध र विरोध हुँदै आएका संस्कृतिविद् निनु चापागाईं बताउनुहुन्छ । चार्वाक र लोकायतहरू संसारलाई चार भौतिक तत्वको संयोग मान्छन् भने ईश्वरको सत्तालाई नै सम्पूर्णमा अस्वीकार गर्दथे ।
स्वर्ग स्थिता यदा तृप्ति गच्छेयुस्तत्र दानतः
प्रसादस्योेपरि स्थाननामत्र कस्मान्न दीयते
(श्राद्ध गर्नाले स्वर्गमा बसेकाहरू तृप्त हुन्छन् भने यही भवनको माथिल्लो तलामा बसेकाहरूलाई श्राद्ध गरेर तपाईंहरू किन तृप्त पार्न सक्नुहुन्न ?)
सांस्कृतिक रूपान्तरणको सर्वोपरि भूमिका छ । संविधानले वैज्ञानिक, न्यायपूर्ण तथा समतामूलक संस्कृति निर्माण गर्न चाहेको छ । तर यस विषयमा भुइँतहदेखि नै सबैभन्दा पहिले आमरूपमा छलफल, बहस गर्न जरुरी देखिन्छ । यस्ता विषयमा जोरजबर्जस्ती कदापि गर्नु हुँदैन । यस विषयमा जननेता मदन भण्डारी बहुतै होसियार हुनुहुन्थ्यो । उहाँले श्राद्धलगायत सबै परम्परागत संस्कार संस्कृतिमा सुधारका आन्दोलन र अभियान चलाएर कलात्मक हस्तक्षेप गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । भण्डारीका अनुसार सकारलाई स्वीकार गर्दै नकारात्मक तथा जीवन अनुपयोगी पक्षलाई सचेतता तथा जागरणको अभियान सञ्चालन गर्नुपर्छ । परम्परागत सबै संस्कारका बारेमा विद्यमान अतिवादी र अन्धवादी दुवै धारणा गलत छन्।
पूर्वीय संस्कृतिमा श्रद्धाका अनेक विकल्प पाइन्छन् । त्यतिबेलैदेखि पनि खाए खा नखाए घिच् भनेझैँ गरेर एकै प्रकारको वा भारीभर्कम श्राद्धको प्रथा चलेको पाइन्न । जन्मदेखि मृत्युसम्मका अनेक कर्मका विषयमा उचित, उपयोगी र सरल विकल्प पुर्खाहरूले दिएकै छन् । अझ हाम्रोजस्तो बहुसांस्कृतिक मुलुकमा यस विषयमा अनेक सरल विधिविधान पाइन्छन् भन्ने कुरा त स्पष्टै छ । त्यसैले यस लेखकले परम्परागत ठाउँमा गोष्ठिविधिबाट श्राद्ध समारोह, परम्परागत व्रतबन्धका सट्टा छोराछोरीको आधुनिक व्रतबन्ध अपनायो । यस्तो व्रतबन्धमा अनुशासनमैत्री, शिक्षामैत्री, सेवाभावना, योग्य र अनुशासित तथा असल नागरिक बन्ने प्रणसहितका नवीन विधिको उपयोग गरियो ।
सुखमा खुसी हुनु र शोकमा दुःखी हुनु मानवीय स्वभाव हो । यस्ता सुख र दुःखलाई व्यावहारिक रूपमा प्रकट गर्ने सन्दर्भमा अनेक खालका संस्कार पुर्खाहरूले सिर्जना गरेका हुन् । दिवङ्गत पुर्खाको किरियाकाज गर्दिनँ भन्नु सांस्कृतिक चेत, चिन्तन र चरित्रको अभाव हो तर जे जे बराजु सोहीसोही नाति भनेझैँ पुराना वा सनातनकालका, समय अनुकूल नभएका सबै नकार ग्रहण गर्नुपर्छ भन्ने पनि होइन । त्यसैले धर्म, संस्कृति र संस्कारका सबै सकारहरू जोगाउँदै समयसापेक्ष सरल, सहज तथा मितव्ययी बनाउनु अपरिहार्य देखिन्छ ।