सासूबुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैभरी मिलेर बस्न नसक्ने सम्बन्धको रूपमा लिइन्छ । सासू कहिले आमा हुँदैनन् र बुहारी कहिले छोरी हुँदैनन् भन्ने भनाइ यत्रतत्र सुन्न पाइन्छ । जतिसुकै शिक्षित घरपरिवारमा पनि सासूबुहारीको मनमुटाब र झैँझगडा देख्न सकिन्छ । कतिपय ठाउँमा त बिहे गरेर ल्याएको केही समयमा नै सासूससुरासँग छुट्टिएर बेग्लै बसेको पनि देखिन्छ । समाजमा कतिपय छोराबुहारीले बाध्यताले आमाबुबा पाल्नुपरेको पनि देख्न सकिन्छ ।
त्यस्तै, बुहारी ल्याएर छोरा पनि टाढा भयो भन्ने गुनासो धेरै आमाबुबाबाट सुन्न पाइन्छ । यो नेपाली समाजको एउटा तितो सत्य नै हो । तर के साँच्चै सासू कहिले आमा अनि बुहारी कहिले छोरी बन्न सक्दिनन् त रु भनिन्छ, सबै आमा ममताका खानी हुन् । उनीहरूको हृदय यो सन्सारभन्दा पनि विशाल हुन्छ भनेर अनि सन्सारभन्दा पनि विशाल हृदय भएकी आमाले आफ्नो बुहारीलाई चैँ छोरी मान्न सक्दिनन् त रु त्यस्तै हरेक छोरीको चाहना हुन्छ आफू बिहे गरेर गएको घरमा आफ्नो श्रीमान् बाट मात्रै नभएर सासू ससुरा तथा परिवारका अन्य सबै सद्स्यहरुको माया र स्नेह पाउने । सासू ससुरा सबैलाई रिझाएर खुसी पारौँ भन्ने । यस्तो सोच बोकेर बिदाइ भएका छोरीले आफ्नो सासूलाई आमाजस्तो मान्न सक्दैनन् र रु बुहारी ल्याएर थोरै भएपनी आफ्नो आमाबुबालाई राहत दिउँभन्ने चाहना बोकेको छोरो कसरी आफ्नो बुढीको कारण आफ्ना प्राणभन्दा प्यारा आमाबुबाबाट टाढिन सक्छ ।
सासू र बुहारीलाई हेर्ने हाम्रो दृष्टिकोण नै त खराब भएर यस्तो भएको होइन कतै रु सासू र बुहारी बिचको सम्बन्धमा शून्य सहनशीलता ले गर्दा त यस्तो भैराको छैन कतै ? आमाले घरमा गाली गर्दा चुपचाप बस्ने छोरी सासूले एकवचन रूखो बोल्दा जिन्दगीभर बिर्सनु सक्दिन । आमाले भनेको भए त सजिलै मुखभरिको जवाफ दिएर भए पनि चित्त बुझाउँथी होला तर सासूलाई एकवचन जवाफ दिन सक्दिन अनि मनमा कुण्ठा उत्पन्न गर्दै बस्छे ।
त्यस्तै, आफ्नो छोरीको मुखभरिको जवाफ हासिहासी सुन्न सक्ने आमा आफ्नो बुहारीले ठुलो बोली गरेको सुन्न सक्दैनन् । बुहारी भएर ठुलो स्वर गर्ने भन्ने सासूको अहमता हाबी भइहाल्छ एक छिन मै । सहनशीलता कहाँ छ र अहिलेको सासू बुहारीमा ? सहन शक्ति भए पनि एकदम थोरैमा मात्रै हुन्छ आजकल, छोरीले केही भने एक छिन मै बिर्सिदिने आमाले बुहारीको चित्त नबुझेको कुरा सारा सन्सारलाई सुनाउँदै हिँड्ने गरेको पनि देखिन्छ भने सासूको चित्त नबुझेका कुराहरू आफ्नो माइतीमा आएर सबैलाई सुनाउने गरेको पनि देखिन्छ । यसरी आफ्नो घरको कुरा बाहिर छरपस्ट पार्दा के पारिवारिक सम्बन्ध दिगो र बलियो हुन्छ होला त रु अह, पटक्कै हुँदैन किनकि परिवार नै व्यक्तिको सबैभन्दा ठुलो शक्ति अनि कमजोरी दुवै हुन्छ । परिवारलाई कमजोर बनाउन मानिसले एउटा मौका पर्खिरहेको हुन्छ, कमजोरी खोजिरहेको हुन्छ । यस अवस्थामा घरकै सासूबुहारीले एकअर्कामा इख लिएर कुरा कात्दै बाहिरी मान्छेलाई सुनाएमा त्यसबाट हुने नोक्सान त दुबै जनाले भोग्नुपर्छ नि । जति नै नराम्रो भएपनी सासूलाई अरूले नराम्रो भनेको वा नराम्रो गरेको एउटी बुहारीले कदापि हेर्न र सहन सक्दिन भने आफ्नो बुहारीको बारेमा नराम्रो भनेको कुनै सासूले सुन्न सक्दैनन् । दुबैजनाको मनमा अलिकति भए पनि चोट पुग्दछ ।
कतिपय घरमा दिनहुँ घरझगडा भएको देखिन्छ, सासू बुहारी बिच । सासूबुहारीको झगडामा बिचरा छोरो बिचमा परेको हुन्छ । आफ्नो आमालाई केही भनौँ आमाको मन दुख्ने अनि श्रीमतीलाई केही भनौँ अर्काको छोरो कसैगरी आफ्नो हुँदैन भन्देली भन्ने पिर । तर बाकी जीवनभर साथ दिने श्रीमती नै भएकाले बाध्य भएर आमाबुबालाई थुम्थुम्याउदै श्रीमतीकै पछि लाग्नुपरेको कारण कतिपय आमाबुबाले छोरा टाढा भयो भनेको सुन्ने गरिन्छ समाजमा । बुहारीकै कारण घरमा बस्न नसकेर घरै छाडि हिँड्नुपरेको, वृद्धाश्रम मा बस्न परेको तथा घरमै बसेर पनि विभिन्न बचन र तुच्छ व्यवहार सहेर बस्नुपरेको बुवा आमा पनि धेरै हुनुहुन्छ । सासूको कारणले नै बुहारीले कति शारीरिक र मानसिक यातना सहेर बस्नुपरेको पनि छ । अझ नेपालको तराई भेग तिर त दाइजोको निहुँमा सासू ससुरा र श्रीमान् मिलेर नै बुहारीको हत्यासम्म गर्ने गरिएको पाइन्छ । यसरी घरपरिवारकै सदस्यबिच मनमुटाब राख्ने, इख, डाह, ईर्ष्या, रिस राग राख्नाले आफ्नै पारिवारिक सन्सार भताभुङ्ग हुन्छ नै, आफ्नो सामाजिक अस्तित्व पनि सकिन बेर लाग्दैन । एकअर्काप्रती भित्री मायाप्रेम र सद्भाव गुमेर बाहिरी देखावटीको लागि मात्रै सम्बन्ध बाकी रहेको हुन्छ ।
जमाना धेरै परिवर्तन भैसकेको छ तर पनि सासूबुहारिको सम्बन्धलाई हेर्ने मानिसहरूको दृष्टिकोण परिवर्तन हुन सकेको छैन । जतिसुकै शिक्षित परिवारमा पनि छोरीलाई सासू सासुनै हुन्छिन्, आमा कहिले हुँदैनन् भन्ने गलत मानसिकता पैदा गरिएको हुन्छ भने जतिसुकै शिक्षित सासू भएपनी बुहारी भनेको बुहारी हो, सासूले भनेको मान्नुपर्छ तथा सासूकै अधिनमा चल्नुपर्छ भन्ने गलत मानसिकताले धेरै हदसम्म राज गरेकै हुन्छ।
सम्बन्धको गलत प्रयोग कहिले र कसैले पनि गर्न हुँदैन । मायाप्रेम, सद्भाव र एक अर्काप्रतिको विश्वासले नै कुनै पनि सम्बन्धलाई दिगो, स्थायी र मजबुत बनाउँछ । विवाह भनेको आफ्नो जिन्दगीसँग गरिने एउटा सम्झौता नै हो । वैवाहिक जीवनमा हामीले आफ्नो मात्रै नभएर अन्य सदस्यको पनि इच्छा, चाहना र भावनाको कदर र सम्मान गर्नुपर्दछ । त्यस्तै कसैलाई आफ्नो अधिनमा राखेर मात्रै आफू ठुलो बन्न सकिन्छ र कसैको अधिनमा रहेर काम गर्नुपर्दा आफू सानो बनिन्छ वा आफ्नो अस्तित्व नै रहँदैन कि भन्ने गलत सोचलाई त्याग्नुपर्छ । पारिवारिक सम्बन्धमा बाधिइसकेपछी सबैले सबैलाई आफ्नो सोच्नुपर्छ । सानातिना गल्तीहरूलाई माफ गरिदिनुपर्छ ।
मान्छे हो कहिलेकाहीँ जानअन्जानमा गल्ती त सबैबाट हुनसक्छ । भनिन्छ एउटी महिलाले नै महिलाको पिर दुख मर्का राम्ररी बुझ्न सक्छन् भने सासूले बुहारीलाई कहिले बुझ्न सक्दिन भन्ने मानसिकता त्याग्दिनुपर्छ किनकि सासूले नै बुहारीलाई राम्ररी बुझ्न सक्छन् । सासूपनी कुनै समय त्यहीँ घरमा बुहारीको रूपमा भित्रिएकी थिइन् । बुहारीलाई पनि उनले छोरीलाई झैँ माया दिन सक्छिन् किनकि उनले पनि बुहारी भई आउँदा सबैले छोरीलाई झैँ माया गरुन् भन्ने चाहेको थिइन् । बुहारीले पनि सासूलाई हृदयदेखि नै आमा मान्न सक्नुपर्छ । असल संस्कार दिएर आफ्नो लागि लायक बनाउने छोराको आमाबुबालाई आफ्नो आमाबुबा सम्झिनुपर्छ । घरमा हुँदा बुबा आमाको लागि आफ्नो केही रहरहरू मनमै सीमित गर्न सकिन्थ्यो भने बुहारी भएपछि पनि आफ्ना सासूससुराको निम्ति केही रहरहरू, चाहनाहरू आफूमै सीमित गराउन सक्नुपर्छ । सम्बन्ध भनेको पनि एउटा सम्झौता नै हो त्यसैले केही केही कुराहरूमा सम्झौता गरे, आफूमा थोरै सहनशीलता ल्याए पारिवारिक सम्बन्ध र आफ्नो घरपरिवारलाई स्वर्गजस्तै बनाउन सकिन्छ ।