कोभिड-१९ महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई गतिशील बनाउन सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थान अभियान शुभारम्भ गरिएको छ । सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा देशदर्शन अभियान शुरु गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको छ । ‘पर्यटनका लागि हाम्रो सन्देश, घुमौँ देश, चिनौँ परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री सार्वजनिक गरिएको छ ।
पर्यटन पुनरुत्थानका लागि भएको पहलको पहिलो पाइलास्वरुप देशदर्शन कार्यक्रमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड-१९ महामारीका कारण थलिएको पर्यटनलाई गतिशील बनाई आर्थिक गतिविधि बढाउन सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो ।
मन्त्री भट्टराईले कोरोना महामारीको जोखिम कम भइनसकेको तर यसबाट भागेर नभई जुधेर सबै एकताबद्ध भई साझा अभियानलाई सार्थक बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यदलले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुरु गरेको देशदर्शन कार्यक्रमलाई सरकारको सम्पूर्ण साथ सहयोग रहने बचन दिनुभयो ।
मन्त्री भट्टराईले महामारीबाट बचेर पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटल तथा रेष्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुल्ला गरिसकेको उल्लेख गर्नुभयो । -रासस