चालु आर्थिक वर्षको पहिलो साउन महिनामा नेपालमा प्रवाह हुने रेमिटेन्स २३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको जनाएको छ । यस अवधिमा रोजगारीको लागि विदेश जाने नेपालीहरु घटेपनि विप्रेषण आप्रवाह भने बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।