७ जना कामदारमा कोरोना देखिएपछि हिजोबाट सञ्चालनमा आएको तातोपानी नाका आजदेखि पुनः बन्द भएको छ ।
भन्सार सामग्री लोड अनलोड गर्ने मजदुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो ।
चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकोमा ७ जनामा संक्रमण देखिए पछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।
बाढी तथा पहिरोको कारण करिब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनःबन्द भएको हो ।
नेपालमा परीक्षण गर्दा ती मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकोले अर्को सोमबारसम्मका लागि आयात बन्द गरिएको हो । –रासस