इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत हिजोको खेलमा साविक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ।
यूएईको शेख जायद रंगशालामा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्न सफल भयो । जितसँगै दोस्रो स्थानमा रहेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
मुम्बई र नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध क्लब दिल्ली क्यापिटल्सको समान ८-८ अंक भएपनि रनरेटका आधारमा मुम्बई पहिलो स्थानमा उक्लेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा राजस्थान भने १८ ओभर १ बलमै अलआउट हुँदै १ सय ३६ रनमै समेटिन पुग्यो ।
मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहँदै ७९ रन को योगदान गरे भने जस्प्रीत बुम्राहले सर्वाधिक ४ विकेट लिए । हालसम्म ६ खेल खेलेको मुम्बईले चारमा जित र दुईमा हार बेहोरेको छ ।
यसैबीच गत वर्षको उपविजेता चेन्नई सुपरकिड्स र कोलकाता नाईट राईडर्सबीच आज खेल हुँदैछ । उक्त खेल नेपाली समायानुसार साँझ सात बजेर ४५ मिनेटमा शुरू हुनेछ ।-एएनआई