सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै जाने अवस्था देखिएपछि कोरोना नियन्त्रणमा भइरहेका प्रयासबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले २५ अस्पतालका निर्देशकसँग भर्चुअल छलफल गर्नुभएको छ ।
मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमणविरुद्ध अघिल्लो तहमा रहेर सक्रिय चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउने, अस्पतालका समस्या बुझ्ने र समाधानको प्रयास गर्ने उद्देश्यले भर्चुअल छलफल राखिएको बताउनुभयो ।
छलफलमा मन्त्री ढकालले कोरोना विरुद्धको प्रतिकार्यमा सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो ।उहाँले समाधानका उपायसहित समस्या राख्न आग्रह गर्नुहुँदै कोरोनाको ठोस उपचार नभएको अवस्थामा यसबाट बच्न अपनाउनुपर्ने सावधानीका लागि सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले चाडबाड निजकिँदै गर्दा बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम अझै बढेकाले त्यसबाट आउने जोखिमको सामना गर्ने गरी तयारी थाल्नसमेत आग्रह गर्नुभयो । उहाँले मन्त्रालयका तर्फबाट स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिबद्धतासहित भन्नुभयो, “बिरामी अस्पतालको गेटबाट फर्कनु पर्ने अवस्था नआओस्, त्यसका लागि आवश्यक तयारी थाल्नुस् । मन्त्रालयले के सहयोग गर्न पर्छ, त्यो हाम्रो तर्फबाट सहयोग गर्छौं ।”
छलफलमा २५ अस्पतालका निर्देशकको सहभागिता थियो । अस्पतालका निर्देशकले कोरोनाले निम्त्याएका समस्या, भइरहेका सेवा, स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने सहयोगका विषयमा धारणा राख्नुभएको थियो ।
मन्त्री ढकालले स्वास्थ्यका विज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवालासँग नियमित रूपमा छलफल गर्दै आउनुभएको छ ।