बैतडीको पाटन विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । धनगढीलाई बेस बनाएर पाटनमा नियमित उडान हुने भएको हो ।
यही असोज २९ गतेदेखि नियमित उडान हुने बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । हप्ताको १ दिन बिहीबार समिट एयरले उडान भर्ने उहाँले बताउनुभयो ।
धनगढीबाट बिहान साँढे ११ बजे पाटनका लागि उडान हुने बताईएको छ । १७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धनगढी–पाटनको भाडादर भने ३ हजार ८०२ रुपैंया तोकिएको छ । नियमित हवाई उडान हुने भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ ।
तत्कालका लागि पाटन नगरपालिकासंग समन्वय गरेर यात्रु प्रतिक्षालय स्थापना गरेर एकजना कर्मचारी राख्ने तयारी भएको स्वकीय सचिव भण्डारीले बताउनुभयो ।
असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो । परीक्षण उडानसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराई सहितको टोलीले विमानस्थलको निरीक्षण समेत गरेको थियो ।
विस २०५२ देखि पूर्ण रुपमा बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यहाँका बासिन्दामा उत्साह थपेको छ ।–रासस