बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार तीन तहको लकडाउनको घोषणा गरेका छन् ।
कोभिड–१९ संक्रमितहरुको संख्या बढ्दै गएपछि बेलायत सरकारले पुनः लकडाउन घोषणा गरेको हो ।
पछिल्लो समय युरोपमा कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । बेलायतमा पछिल्लो साता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पुनः लकडाउन लगाउने घोषणा गरिएको हो । यद्यपि लकडाउन विगतमा जस्तो राष्ट्रव्यापी नगरी बर्गीकरणको आधारमा क, ख र ग गरी तीन अवस्थामा फरक फरक लकडाउन सुरु गरिएको छ ।
सोमबार ब्रिटिस संसद् हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणको जोखिम र संक्रमण दरका आधारमा मध्यम, उच्च र अति उच्च (टियर वान, टु एण्ड थ्री) गरी तीन तहको लकडाउन लागू गरिने घोषणा गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री जोन्सनले यसअघि जस्तो राष्ट्रव्यापी रुपमा लकडाउन भने नहुने उनले प्रष्टयाएका छन् । मध्यम जोखिम भएका ठाउँमा हाल जारी ‘रुल अफ सिक्स’ अर्थात् बाहिर र घरभित्र ६ जनासम्म भेला हुन पाइन्छ भने पब, बार तथा रेस्टुरेन्टहरु राति १० बजेभित्र बन्द गरिसक्नुपर्नेछ ।
नयाँ व्यवस्था अनुसार आफ्नो परिवारका मानिस बाहेक भेटघाटमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको संक्रमण कम भएको ठाउँमा भने बढिमा छ जनासम्म भेटवार्ता गर्न अनुमति दिइएको छ । –बीबीसी