प्रधानमन्त्री केपी शर्मा ओलीले बिपद् जोखिम न्यूनीकरणका लागि विश्व समुदाय एक ठाँउमा उभिनु पर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण कार्यमञ्चले प्राकृतिक विपद् न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै प्रधानमन्त्री ओलीले मानवीय कारणले हुने विपद्का जोखिमहरुको न्यूनिकरणका लागि सबै देशले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलिले विपद जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्वन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका अधारमा नीति तर्जुमा गर्दै पारस्परिक सहयोग र सहकार्यका आधारमा काम गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रले तय गरेका रणनीतिहरुलाई मुल प्रवाहीकरण गर्दै व्यापक जागरण र साझा प्रयासका माध्यामबाट विपद जोखिम न्यूनीकरणका सवालमा काम गर्नुपर्ने औल्याउनुभयो ।
प्रधानमन्त्री ओलीले भौतिक संरचना निर्माण गर्दा वातावरणीय प्रभावको मुल्याङ्कन गर्दै दिगो, टिकाउ र सुरक्षित बासस्थान छनोट गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले देश र जनताको हितमा हुने कानूनलाई समयानूकुल परिवर्तन गर्न सकिने भन्नुहुंदै कानूनको कारणले समस्या सिर्जना नहुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विपद जोखिम न्यूनिकरणका विषयमा विद्यालय तह देखिनै शिक्षा दिनुपर्ने बताउनुभयो ।
उहाँले भुकम्प पछिको पुननिर्माणको काम सकिन थालेको उल्लेख गर्दैै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना भाईरसको संक्रमणका कारण मुलुकको बहुआयामिक विकासमा बाँधा पुगेकोले सुखी नेपाली र समृद्ध नेपालको अभियान पुरा गर्न गम्भीर हुनुपर्ने बेला आएको बताउनुभयो ।