यूरोपका धेरै सहरहरुमा कोरोना भाइरसको संक्रमण फेरि फैलने खतरा बढेपछि कडा प्रतिबन्ध देखि रात्रिकालीन कर्फ्यूको आदेश जारी गरिएका छन् ।
बेलायतमा दशौं लाख जनसंख्यालाई घर भित्र पनि जमघट गर्न नपाउने गरी प्रतिवन्ध लगाइएको छ । त्यहाँको लण्डन, योर्क र एसेक्स शहरहरुमा संक्रमण बढ्ने खतरा देखिएपछि सतर्कता पनि बढाइएको छ । यसैगरी लिभरपुल म्याचेष्टर लगायत शहरहरुमा पनि संक्रमणको दोस्रो लहर भित्रन नदिन सतर्कताका प्रयास भइरहेको छ ।
यसैगरी फ्रान्समा राजधानी पेरिस सहित केहि ठूला शहरहरुमा रात्रिकालिन कर्फ्यू लगाइएको छ । अष्ट्रियाका विदेशमन्त्रीलाई पनि संक्रमण पुष्टि भएको छ ।
अमेरिका स्थित जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर तीन करोड ९० लाख बढी मानिसहरुमा कोभिड(१९ को संक्रमण पुष्टि भएको छ भने हालसम्म ११ लाख बढी मानिसहरुको मृत्यु भइसकेको छ । –रोयटर्स