इन्डियन प्रिमियर लिगमा किंग्स ११ पञ्जावले तेस्रो जित निकालेको छ । जितसँग पञ्जावले प्लेअफको संभावना कायमै राखेको छ । दुई पटकसम्म सुपर ओभरमा पुगेको खेलमा पञ्जावले दोस्रो सुपर ओभरमा जित निकालेको हाे । जारी आईपीएलमा मुम्बईकाे तेस्राे हार हाे ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । मुम्बईको सुरुवात भने राम्रो हुन सकेन । ओपनिङ आएका कप्तान रोहित शर्मा व्यक्तिगत ९ रन बनाएर आउट भए । रोहित शर्मा आउट हुँदा मुम्बईको स्कोर २३–१ रहेको थियो ।
त्यसलगै सूर्यकुमार यादव पनि खाता नै नखोली पभेलियन फर्किए । इशान किसन पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । किसन व्यक्तिगत सात रन बनाएर आउट भए । किसन आउट हुँदा मुम्बईको स्कोर ३८–३ भएको थियो ।
सुरुवातमा नै तीन विकेट गुमाएपछि दवावमा आएको मुम्बईलाई क्विन्टन डी कक र क्रुनाल पाण्ड्याले सम्हालेका थिए । यी दुई खेलाडीले ५८ रनको साझेदारी गरेका थिए । तर पाण्ड्या व्यक्तिगत ३४ रन बनाएर आउट भएका थिए । पाण्ड्याले ३० बलमा ४ चौका र एक छक्का प्रहार गरे । त्यसपछि क्रिजमा आएका हार्दिक पाण्ड्याले आक्रामक शुरुवात गर्न खोज्दा चाँडै आउट भए । उनले ८ रन बनाए ।
टिमको खातामा थप तीन रन जोडिएका बेला ओपनिङ आएका डि कक आउट हुन पुगे । उनी अर्धशतकीय परि खेल्दै पभेलियन फर्किएका हुन् । डी ककले ४३ बल खेल्दा तीन चौका र तीन छक्का प्रहार गरे । डी ककलाई क्रिस जोर्डनले आउट गरेका थिए ।
त्यसपछि केइरन पोलार्ड र नाथन कल्टर नाइलले मुम्बईको इनिङ उकासे । दुवै जनाले १२–१२ बल फेस गर्दा आक्रामक पारि खेले । पोलार्डले ३४ रन बनाउँदा कल्टरले २४ रनको योगदान गरे । यी दुई बीच ५७ रनको नटआउट साझेदारी भएको थिया । पोलार्डले चार छक्का र एक चौका प्रहार गर्दा कल्टरले चार चौका प्रहार गरेका थिए । पञ्जावको मोहमद शामी र अर्सदीप सिंहले समान दुई दुई विकेट लिए ।
जवाफमा पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो ।
३३ रनमा पहिलो विकेट गुमाएको पञ्जावले ७५ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि उसले एक सय आठ रन हुँदा तेस्रो विकेट गुमाउन पुग्यो । पञ्जावको स्कोर एक सय ५३ रन हुँदा पाँचौ विकेट झरेको थियो ।
पञ्जावका लागि मायांक अग्रवालले ११ रन बनाए भने क्रिस गेलले २४, निकोलस पुरनले पनि २४ रन बनाए । तर यो सिजनमा निकै खराव खेलिरहेका ग्लेन म्याक्सवेलले खाता खोल्न सकेनन् । टिमका कप्तान लोकेश राहुलले ७७ रनको पारी खेले ।
यो जितपछि पञ्जावको ६ अंक भएको छ । हारपछि मुम्बईले फेरी शिर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जारी प्रतियोगितामा मुम्बईको तेस्रो हार हो ।
सुपर ओभरमा पञ्जावले मात्र ५ रनको लक्ष्य दिएको थियो । तर मुम्बईले चार रन बनाएपनि खेल दोस्रो पटक सुपर ओभरमा गएको थियो ।
दोस्रो पटकको सुपर ओभरमा पहिले ब्याटिङ गर्दै मुम्बईले एक विकेट गुमाएर १२ रनको लक्ष्य दिएको थियो ।
जसमा पञ्जावले २ बल बाँकी हुँदा जित निकाल्याे । यो जितपछि पञ्जावले ६ अंक बनाएको छ । जारी लिगमा पञ्जाको तेस्रो जित हो । यो जितपछि उसले प्लेअफको यात्रा कायमै राखेको छ ।