काठमाडौँ, कात्तिक ४ गते । नेपाली पत्रकारिता क्षेत्रमा आदरार्थी शब्दको कञ्जुस्याइँ भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा नै चिन्ता व्यक्त गर्नुभएपछि नेपाली भाषाका विद्यार्थी, प्रयोगकर्ता र पत्रकारिता क्षेत्रमा भाषा बहसले पुनः स्थान पाएको छ ।
साहित्यकार श्यामप्रसाद शर्माले २०१४ सालमै निबन्ध लेख्नुभएको थियो, ‘तँ तिमी तपाईं हजुर !’ नेपाली समाजमा वर्ग र समुदायको विभेदसँगै भाषामा रहेको छुवाछूतलाई शर्माको निबन्धले चिरफार गरेको छ । आखिर तिमी र तपाईंको साँध सिमाना के हो ?
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले भन्नुभयो, “कतिपय समुदायले अहिले पनि बा–आमालाई तिमी भनेको सुनिन्छ तर जे चलेको छ, त्यही मापदण्ड हो वा हुनुपर्छ भन्ने हुँदैन । आदरार्थी शब्दको प्रयोग नेपाली भाषामा मात्र होइन, संसारका सबै भाषामा प्रयोग भइरहेको छ ।”
सन्दर्भअनुसार ‘तँ’समेत आदरार्थी हुने धारणा उहाँको छ । वरिष्ठ पत्रकार अधिकारीले भन्नुभयो, “स्नेहबस बच्चालाई तँ, तिमी भन्छौँ । तँ, तिमी, तपाईं भाषाको विशेषता होइन । बोलीचालीमा दाइ, भाइ, दिदी, बहिनी, बुवा, आमालाई सन्दर्भअनुसार तँ, तिमी, तपाईं, हजुर भन्नुपर्ने हुन्छ ।”
उहाँले पञ्चायतकालमा राजाले प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गर्ने गरेको स्मरण गर्दै भन्नुभयो, “त्यो परम्परा पाच्य नभएपछि तपाईं भन्न थालियो । सबैभन्दा ठूलो कुरो सन्दर्भ र प्रसङ्ग हो । त्यसअनुसार सम्बोधन गर्नुपर्ने हुन्छ ।” उहाँले भाषा प्रयोगमा खुम्चिने नभई दायरा र विकल्प फराकिलो बनाउँदै जानुपर्ने बताउनुभयो । उहाँले समाजको दिशा निर्देशकसमेत पत्रकारिताले गर्ने भएकाले पत्रकारमा भाषाको दख्खल हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “पत्रकारिताले मर्यादा राख्दा राम्रो हुन्छ । विदेशी मिडियाले नामका अगाडि मिस्टर, श्रीमती प्रयोग गर्छन् तर हामी सीधै तिमी लेखिदिन्छौँ ।”
त्यस्तै वरिष्ठ पत्रकार गोविन्द अधिकारीले संसारका सबै पुराना भाषामा श्रेणी रहेको चर्चा गर्दै ‘तिमी’ आदरणार्थी शब्द नै भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “सामन्ती संस्कारबाटै भाषा परिस्कृत हुँदै आएको हो । विस्तारै समान आदरार्थी प्रयोग गर्ने प्रचलन पनि सुरु भएको छ । समाजलाई विभाजनको खुड्किलातिर होइन, घटाउनेतिर मिडियाले ध्यान दिनुपर्छ ।”
‘तिमी’को अभ्यास भइसकेकाले फेरि तपाईं, हजुरतिर लाग्न उचित नहुने तर्क उहाँको छ । “तिमी लेख्दा धेरै अवमूल्यन भइह(ाल्दैन,” वरिष्ठ पत्रकार अधिकारीले भन्नुभयो, “हाम्रो समाजमा विविधता छ । सबैलाई एउटै शब्दमा बाँध्ने र लाद्ने प्रवृत्ति ठीक हुँदैन । गोरखापत्रले तपाईं प्रयोग गरोस् । तिमी शब्द समाजलाई निर्णय गर्न छाडिदिऊँ ।”
यस्तै भाषाविज्ञ शरच्चन्द्र वस्तीले पत्रकारिताले आदरार्थी शब्द प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईं शब्दलाई बहिष्कार होइन, भाषाको दायरालाई फराकिलो पार्दै पत्रकारिता अगाडि जानुपर्छ ।” उहाँले अतिथिसँग पत्रकारले ‘तपाईं’ भनेर प्रश्न गरे पनि लेख्दा ‘तिमी’ लेख्नु सभ्यता नभएको बताउनुभयो ।
उहाँले तिमी र तपाईं दुवै शब्दलाई प्रयोग गरेर जाँदा राम्रो हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताले सजिलो तरिकाले भाषाको बाटो देखाउने हो, क्रान्ति गर्ने होइन । लठ्ठी देखाएर भाषा परिवर्तन गर्न सकिँदैन । त्यसले भाषालाई नै ध्वस्त पार्छ ।” उहाँले मिडियाले प्रयोग गरेका शब्द पाठक र स्रोताले रुचाएका छन् कि छैनन् भन्ने खालको सर्वेक्षण नभएकाले भाषाका विषयमा मिडियाहरू भ्रम लिएर बाँचिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राम्रो भाषामा धेरै विविधता र तह हुन्छन् । त्यो सामन्तीपन होइन । आदरार्थी शब्द ‘तपाईं’ प्रयोगले केही बिग्रँदैन ।” उहाँले सबैलाई ‘तिमी’ भनेर सम्बोधन गर्दा महान् भइन्छ भन्ने धारणाबाट मुक्त भएर मात्र आफ्नो भाषाप्रति गौरव गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “शिष्ट हुनु, सभ्य देखिनु कमजोरी होइन । पत्रकारितामा शिष्ट, सभ्य भएर प्रस्तुत हुँदा पत्रकार तल पर्ने होइन । झन् सम्मान बढ्दै जान्छ ।” उहाँले थप्नुभयो, “यो पत्रकारिताकै समस्या हो, भाषाको हुँदै होइन । सम्मान गर्दा कोही सामन्ती हुने होइन । कसलाई के भन्ने निक्र्योल हामीले नै गर्नुपर्छ ।”