आइपिएलः आज कोलकाता र राजस्थान भिड्ने

जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज साँझ कोलकाता र राजस्थान भिड्नेछन् ।

प्ले-अफको दौड रोचक बन्दै गएको अवस्थामा यी दुबै टीमलाई अनिवार्य रुपमा जितको आवश्यकता छ ।

कमजोर रनरेट भएको कोलकातालाई राजस्थानमाथिको जितले १४ अकं बनाउन मद्दत गर्नेछ । यदि उसका नजिकका प्रतिद्वन्द्वीले १४ अंक छुन सकेनन् भने कोलकाता प्ले-अफमा पुग्ने आफ्नो सपनामा अडिग रहन सक्नेछ ।

त्यसो त कोलकातालाई प्ले अफमा पुग्नका लागि आफ्नो खेल जितेर मात्र पर्याप्त छैन । पन्जाबले आफ्नो अर्को पनि खेल हार्नुपर्नेछ भने सनराइजर्स हैदराबाद पनि रोकिनु पर्नेछ । पन्जाबले चेन्नाई सुपर किंग्स र हैदराबादले मुम्बई इन्डियन्सको सामना गर्दैछन् ।

यता राजस्थानलाई पनि कोलकाताविरुद्वको खेलमा जित हासिल गर्नै पर्ने बाध्यता छ । जित दर्ता गर्न सके उसको पनि १४ अकं हुनेछ । सोमबारको खेलपछी दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोर मध्ये एक टोली पनि १४ अंकमै सिमित भएको अवस्थामा रनरेटको महत्व बढ्नेछ ।

यस पटकको आइपीएलमा कोलकाताको लयमा एकरुपता देखिएको छैन । उसले दिल्ली माथि ५९ रनको जित दर्ता गरेपछीका खेलहरुमा पन्जाब र चेन्नाईसँग पराजित रह्यो । शुभम गील र नितिश रानाको जोडीले कोलकातालाई सम्हाल्न खोजिरहे पनि आन्द्रे रसेलको अभावले उसलाई असर गरेको छ । अनि कप्तान इयोन र्मोगनको ब्याटिङ अपेक्षित रुपमा चल्न नसक्दा कोलकाता थप मारमा परेको छ ।

बलिङ तर्फ पनि कोलकाता निराश देखिएको छ । लोकी फर्गुसन र बरुण चक्रवर्थी बाहेकका बलर खासै जम्‍न सकेका छैनन् । १३ खेलमा आठ विकेट लिएका पाट कुमिन्सले बाँकी रहेको महत्वपुर्ण खेलमा निर्णयक प्रर्दशन गर्ने अपेक्षा भने गरिएको छ । –एएनआई


ताजा खबर