आइपीएल: बैङ्ग्लाेरलाई हराउँदै दिल्ली क्वालिफायर्समा

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स क्वालिफायर्समा स्थान बनाएको छ । लिग चरणको अन्तिम खेलमा दिल्लीले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई ६ विकेटले हरायो । यो हारपछि पनि बैंग्लोरको शिर्ष चारमा रहने पक्का छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ एक सय ५२ रन बनायो ।

बैंग्लोरका लागि देवदत्त पडीक्कलले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा  ५० रन बनाएका थिए ।

एवि डिभिलियर्सले ३५ रन बनाएर रन आउट हुँदा दुई छक्का र एक चौका प्रहार गरे ।

उनले २१ बल फेस गरेका थिए । कप्तान विराट कोहली २९ तथा शिबम दुवेले १७ रन बनाए । यसैगरी जोस फिलिपे १२ रनमा पभेलियन फर्किएका थिए ।

दिल्लीका एनरिच नोर्टजेले तीन विकेट लिँदा कागिसो राबडाले दुई विकेट हात पारे ।

जवाफमा दिल्लीले १९ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

राम्रो सुरुवात गर्न नसकेको दिल्लीले १९ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर पृथ्वी शा मात्र नौ रनमा आउट भए ।

तर त्यसपछि अजिन्क्या राहाण र शिखर धवनले ८८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । जसमा धवनले अर्धशतकीय पारी खेले ।

उनले ४१ बलमा ५४ रन बनाए । त्यसपछि कप्तान श्रेयस ऐयरपनि मात्र सात रनमा आउट भएपछि दिल्लीले एक सय ३० रनमा तेस्रो विकेट गुमायो । लगत्तै राहाणेपनि ६० रनमा आउट भए । उनले ४६ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

अन्तिममा मार्कुस स्टाेनिस र रिसभ पन्तले टिमलाई जित दिलाए । जसमा स्टाेनीसले १० रन बनाए भने पन्तले ८ रनकाे याेगदान गरे ।

याे जितपछि दिल्लीले १४ खेलमा १६ अङ्क बनाएकाे छ । तेस्रो स्थानमा बैंग्लोर रहेको छ । यदि आज हैदरावादले मुम्बईलाई हरायो भने रनरेटका आधारमा कोलकाताको यात्रा लिग चरणमा रोकिने छ । किनकी कोलकाता रनरेटमा बैंग्लोर भन्दा पछाडी रहेको छ । याे हारपछि बैंग्लोर शिर्ष चारमा रहने पक्का भएको छ ।


ताजा खबर