उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं, कात्तिक ४ गते । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले न्याय परिषद्को परामर्शमा ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदहरूमध्ये प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन र स्थानीय तहको प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन प्रयोजनका लागि नियुक्त हुनुभएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कात्तिक १३ र १४ गते आयोगले उपनिर्वाचनसम्बन्धी निर्देशिकाका विषयमा प्रशिक्षण दिइने बताउनुभयो । प्रशिक्षण पाएपछि उहाँहरुले सम्बन्धित क्षेत्रमा गएर कात्तिक १५ गते कार्यालय स्थापना गर्नु हुने छ ।


ताजा खबर