पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता मिति सरेर मंसिर अन्तिम सातादेखि सुरु हुने भएको छ ।
यसअघि कात्तिक २६ गतेदेखि मंसिर सात गतेसम्म पोखरा मैदानमा आयोजना हुने भनिएको पीपीएल अब मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म आयोजना हुने क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले जानकारी दिएको छ ।
पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्वीन्सले दोस्रो संस्करणको यसअघि नै मिति तोकेपनि १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको तयारी पोखरा मैदानमै हुने हुदा र मेलबर्न क्रिकेट क्लब (एमसीसी) ले काठमाडौं र पोखरामा मैत्रीपूर्ण खेल नोभेम्बर एक देखि १२ सम्म खेल्ने हुदा मिति परिवर्तन गरिएको आयोजकले प्रेस विज्ञप्तिमा भनेको छ ।
त्यस्तै, यही समयमा नेपालका यू–१९ क्रिकेट टिमले भारत भ्रमणमा रहने हुदा प्रतियोगिताको मिति सार्नु परेको हो ।
पोखरामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिम रहेका छन् । जसमा साविक विजेता पोखरा पल्टनसँगै, विराटनगर टाइटान्स, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुस रहेका छन् । रासस