सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिएका हुन्।
प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रूपमा काम गर्ने गरी जिम्मेवारी तोकेको हुन्। मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन्।
निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका शाक्यले सोमबार प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर आफ्नो पदबहाली गरेका छन्। उनी तीन वर्षदेखि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रूपमा कार्यरत थिए। प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अध्ययन तथा अनुसन्धानका क्षेत्रमा खर्च हुने पैसा विदेशिनबाट रोक्ने ध्येयका साथ उक्त कम्पनी स्थापना गरेका थिए।
गएको २९ भदौदेखि घिसिङको चारवर्षे कार्यावधि सकिएपछि मन्त्रालयले उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो।
निमित्त कार्यकारी निर्देशक शाक्यले तत्कालका लागि बत्तीको पर्वसमेत मानिएको तिहारमा विद्युत् पुगेका सबै नेपालीका घरमा सहजरूपमा उपलब्ध गराउन आफू र आफ्नो टोली लागिपर्ने बताएका छन्।
उनले पछिल्ला दिनमा देखिएका केही समस्या समाधानका लागि समेत आफू लागिपर्ने र त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए।
“दीर्घकालीन रूपमा गर्ने कामका बारेमा भने केही समयपछि मात्रै भन्न सकिन्छ। तत्कालका लागि भने तिहारलाई केन्द्रमा राखेर हामी काम गर्छौं”, उनले भने। –रासस