मन्त्रिपरिषद्ले सरकारी अस्पतालमा कोरोना परीक्षण तथा उपचार अब निःशुल्क गर्ने निर्णय गरेको छ।
कोरोना परीक्षण र उपचारको शुल्क लिने निर्णयको सर्वत्र आलोचना भएपछि सरकारले पुराना निर्णयलाई सच्याएको हो। मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस परीक्षण र उपचार तथा पुस्तकमा लगाइएको करसम्बन्धी पुराना निर्णयलाई सच्याएको हो।
मन्त्रिपरिषद्ले सरकारी अस्पतालमा कोरोना परीक्षण तथा उपचार अब निःशुल्क गर्ने निर्णय गरेको छ। यसअघि कोरोना परीक्षण र उपचारको शुल्क लिने निर्णय गरेपछि सरकारको सर्वत्र आलोचना भएको थियो।
संघीय सरकारले निशुल्क परीक्षण र उपचारको व्यवस्था हटाएपछि केही प्रदेश सरकारले परीक्ष र उपचार नै निःशुल्क गर्ने निर्णय सार्वजनिक गरेका थिए। संघीय सरकारले निर्णय सच्याउँदै लक्षण देखिएका बिरामीको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो। सरकारका एक मन्त्रीका अनुसार नेपालमा कोरोना विरुद्धको खोप ल्याउनका लागि कार्यदल पनि बनाइएको छ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले पुस्तक आयातमा लगाएको कर पनि खारेज गर्ने निर्णय गरेको छ। अघिल्लो आर्थिक वर्षको बजेटमार्फत सकारले विदेशबाट आयात हुने किताब तथा पत्रपत्रिकामा १० प्रतिशत अतिरिक्त शुल्क लगाएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट छापिएका नयाँ किताब व्यापारीले कम मात्र ल्याउन थालेका थिए।
यसअघि नेपालमा किताब तथा पत्रिका छाप्न ल्याउने कागजमा ५ प्रतिशत भन्सार लाग्ने गरेको थियो। तर, छापिएर आउने किताब तथा पत्रिका भने छुटमा आउने गरेका थिए। त्यहीकारण सस्तो पर्ने भन्दै नेपालका धेरै प्रकाशन गृहले भारतमा पुस्तक छापेर नेपाल ल्याउने गरेका छन्।