टोकियो । जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच राजगद्दी आरोहण गर्नुभएको छ ।उहाँका पिता अकिहितोले राजगद्दी परित्याग गर्नुभएपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनुभएको थियो ।आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा पूर्वसम्राट अकिहितो पनि उपस्थित हुनुहुन्थ्यो ।
जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरियो । हगिबिसका कारण हालसम्म जापानमा झन्डै ८० जनाको मृत्यु भइसकेको छ ।
राजगद्दी समारोहमा नारुहितो सम्राटहरूले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बस्नुभएको थियो । त्यहाँबाट उहाँले एउटा लिखित मन्तव्य वाचन गर्नुभएको थियो ।
राज्याभिषेक कार्यक्रममा १ सय ९० वटा देश तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको जापान सरकारले जनाएको छ।
तस्बिर: एजेन्सी
रासस