बाँझोपनको उपचार सम्भव छ : श्रीमान श्रीमती दुबैले जचाउनु अनिवार्य छ ।

बाँझोपनको समस्याले धेरै दम्पतीलाई सताउने गरेको छ । बाँझोपनकै कारण घर, परिवार र समाजबाट अपहेलितसमेत हुनुपर्ने अवस्था छ ।

बाँझोपनको समस्या पुरुषमा भए पनि महिलाले नै त्यसको अपजस खेप्दै आएका छन् । तर, चिकित्सकका अनुसार महिला र पुरुष दुवैमा बाँझोपनको समस्या देखिन्छ ।

अध्ययनअनुसार सय दम्पतीमा १०–१२ दम्पतीमा बाँझोपनको समस्या भेटिन्छ । महिला र पुरुष यसका समान भागेदार हुने गरेका छन् । तर, नेपाली समाजले सम्पूर्ण दोष महिलामाथि नै थोपर्ने गरेको छ ।

के हो बाँझोपन ?

महिला वा पुरुषका प्रजनन अंगमा आएको खराबीका कारण गर्भाधान नहुनुलाई बाँझोपन वा निःसन्तान भन्ने गरिन्छ । यो आफैंमा एउटा रोग हो र अन्य रोगको कारणले पनि बाँझोपनको समस्या निम्तिन सक्छ ।

महिलामा रजस्वला हुँदा ३ देखि ४ लाख अन्डा स्टोर भएको हुन्छ । महिलाको प्रजनन उमेरभर ३ सयदेखि ४ सयपटक महिनावारी हुन्छ । र, हरेकपटक एउटा मात्र अन्डा निष्कासन हुन्छ । विशेषगरी, महिनावारी भएको १२–१३औं दिनमा अन्डा निष्कासन हुने गर्छ ।

सोही समयमा यौन सम्पर्क भई अन्डाले शुक्रकीट पायो भने गर्भ बस्छ । उक्त अन्डाको आयु १५ देखि २० घण्टाको हुन्छ । महिनाको एकपटक मात्र आउने उक्त गोल्डेन समयमा अन्डा र शुक्रकीटको मिलन भएमा त्यसबाट भ्रुण बन्ने प्रक्रिया सुरु हुन्छ ।

महिलामा बाँझोपन

३५ वर्षभन्दा कम उमेरका महिलाले १ वर्ष, ३५–४० उमेरका महिलाले ६ महिना र ४० वर्षमाथिका महिलाले ३ महिना प्रयास गर्दा पनि गर्भाधान हुन सकेन भने निःसन्तानको समस्या भएको बुझ्नुपर्छ । पाठेघरको मुख निकै टाइट वा सुक्खा भयो भने शुक्रकीट गर्भनलीसम्म पुग्न सक्दैनन् । जसका कारण बाँझोपनको समस्या आउन सक्छ । तर, यो समस्या बिरलै भेटिन्छ ।

केही महिलामा जन्मजात नै बाँझोपनको समस्या हुन्छ

त्यस्तै, कतिपय अवस्थामा डिम्बाशयले निकालेको अन्डा तल झर्नै पाउँदैन, गर्भनलीमा समस्या भएमा अन्डा निस्कन पाउँदैन र शुक्रकीटसँग मिलन हुन पाउँदैन । त्यस्तै, महिलाको उमेर धेरै भएको अवस्थामा डिम्बले आवश्यकताअनुसारको अन्डा उत्पादन गर्न सक्दैन । त्यसकारण, गर्भाधान हुन सक्दैन ।

डिम्बले चाहिनेभन्दा बढी अन्डा उत्पादन गरेमा पनि बाँझोपनको समस्या आउन सक्छ । अन्डा फुट्न १८ देखि २० मिलिमिटर साइजको फोका हुनुपर्छ तर धेरै भयो भने १० मिलिमिटरभन्दा माथि जाँदैन । र, अन्डा फुट्नै धेरै दिन (४०–४५ ) लाग्न सक्छ । र, गर्भ बस्ने सम्भावना निकै कम हुन्छ ।

धेरैपटक पेटको अपरेसन गरिएको छ भने डिम्बाशय पेटमा टाँसिन्छ र अन्डा निस्कँदैन । त्यस्तै, पाठेघरमा ट्युमर भएमा, विभिन्न खाले इन्फेक्सन भएमा, गर्भनिरोधक औषधि बढी प्रयोग गरेमा र अगाडि नै धेरै क्युरेट गरिएको छ भने बाँझोपनको समस्या हुन्छ ।

पुरुषमा बाँझोपन

ओलिगो, एस्थेनो, टेराटो, स्पर्नियालगायतका समस्याका कारण पुरुषमा बाँझोपन हुन्छ । शुक्रकीटको संख्या कम र गति निकै कम भएमा पुरुषमा बाँझोपनको समस्या देखिन्छ । १ एमएल वीर्यमा डेढ करोड शुक्रकीट हुनुपर्छ ।

जसमध्ये ४० प्रतिशत सक्रिय हुनुपर्छ । तर, कसैमा १० मिलियन वा सोभन्दा पनि कम हुन सक्छ । यस्तो अवस्थामा ६० प्रतिशत शुक्रकीट सक्रिय हुनुपर्छ । त्यसो नभएमा बाँझोपन भएको बुझ्न सकिन्छ ।

शुक्रकीटको आकार पनि अर्को कारण हो । सामान्यतया शुक्रकीटको टाउको र पुच्छर जोडिएको हुन्छ । तर, केहीको पुच्छर नहुने र कसैको टाउको दुई वटा हुन्छन् । यो अवस्थामा बाँझोपन हुन सक्छ ।

अण्डकाेषमा बढी तापक्रम हुँदा शुक्रकीट उत्पादनमा कमी आउन सक्छ । त्यस्तै, जिम गर्ने क्रममा स्टोरोइड भएका खानाहरू बढी खाँदा बाँझोपन हुन सक्छ । जंक फुड बढी खाँदा पनि बाँझोपन हुन सक्छ ।

केही पुरुषमा जन्मजातै बाँझोपनको समस्या हुन्छ । यस्ता पुरूषमा शुक्रकीट नै उत्पादन हुँदैन । लिंगबाट सेतो पदार्थ निष्कने भए पनि त्यसमा शुक्रकीट भने हुँदैन । लिंग र अण्डकोषबीचको नलीको खराबी र अण्डकाेषको आकार निकै सानो भएमा पुरुषमा बाँझोपन हुन्छ ।

तर, यौन प्रक्रियामा भाग लिने प्रजनन अंगहरू (योनी, पाठेघरको मुख, पाठेघर, गर्भनली र डिम्ब)ले आफ्नो भूमिकाअनुसारको कार्य गर्न नसक्दा महिलामा बाँझोपनको समस्या देखिन सक्छ । त्यस्तै, पुरुषमा भने मुख्यतः वीर्यको कारणले बाँझोपनको समस्या देखिन्छ ।

महिलामा बाँझोपनको समस्या भए या नभएको थाहा पाउन पाँच वटै अंगको जाँच गर्नुपर्ने हुन्छ । तर, पुुरुषको हकमा वीर्य मात्रै जाँचे पुग्छ । पुरुषको शुक्रकीटलाई माइक्रोस्कोपमा राखेर यसमा शुक्रकीट छ या छैन भनी परीक्षण गरिन्छ । त्यस्तै, कति संख्यामा छ ? त्यसको गति कति छ ? आकार कस्तो छ ? यी विषयमा १० मिनेटमै थाहा हुन्छ । तर, महिलाको हकमा केही दिनकाे परीक्षण पछि मात्र बाँझोपनको समस्या भए\नभएको र के कारणले भएको पत्ता लगाउन सकिन्छ ।

बाँझोपनको समस्या हुँदा यौन इच्छामा कमी नआउने चिकित्सकको तर्क छ । परिवार र समाजबाट एक्लिने डरले त्यस विषयमा बढी चिन्ता लिन्छन् । शारीरिक कारणले भन्दा पनि मनोवैज्ञानिक कारणले गर्दा यौन इच्छामा कमी आउने डा. चौधरीको भनाइ छ ।

काठमाडौंको चावहिल स्थित ॐ अस्पतालमा निःसन्तानपनको सम्पूर्ण उपचार सम्भव रहेको जानकारी गराउनुहुँदै निसन्तानपन बिशेषज्ञ डा.चौधरीले सयौं दम्पत्तिलाई वात्शल्य सुख प्रदान गरिसकेको दाबी गर्नुभयो । उहाँले ॐ अस्पतालमा लामो अनुभव भएका बिशेषज्ञ चिकित्सकहरुको टोलीसँगै अत्याधुनिक तथा विश्वस्तरिय उपकरणहरु सहितको आइभिएफ केन्द्र समेत रहेकोले सफलताको दर समेत उच्च रहेको बताउनु भएको छ  ।

(ॐ हस्पिटल, चावहिलमा कार्यरत  निःसन्तानपन विशेषज्ञ डा. राजेश चौधरीसँगको कुराकानीमा आधारित)


ताजा खबर