राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न उद्योगलाई अनुदान प्रदान

राष्ट्रिय वाणिज्य बैंकले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेका विभिन्न उद्योगहरुलाई अनुदान सहयोग प्रदान गरेको छ

जर्मन सरकारको केएफडब्लु बैंक मार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत प्रिमियर अर्गानिक्स् प्रा.लि.लाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपैंया, हुलास स्टील इन्डस्ट्रिज प्रा.लि.लाई ३३ लाख १५ हजार छ सय रुपैंया, प्रिमियर स्टिल प्रा.लि.लाई १७ लाख आठ हजार चार सय छपन्न रुपैंया रकम हस्तान्तरण गरेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तरगत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने व्यवस्था रहेको छ ।

यस आयोजना अन्तरगत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।


ताजा खबर