नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भित्र्याउन रहेका कानुनी बाधा फुकाइसकेको छ ।
खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले दिनुुभएको छ ।
खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा. गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ ।
डा. गौतमले भन्नुुभयो, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु पर्यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।”
दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ । अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन् । विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो ।
सहुलियतको खोप र व्यावसायिक रूपमा खरिद गर्ने दुवै थरी खोप नेपाल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयले हातेमालो गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो । त्यस अनुसार खोप नेपाल ल्याउन स्वास्थ्य सेवा विभाग खोप शाखाअन्तर्गत डा. श्यामराज उप्रेतीको संयोजकत्वमा बनेको विज्ञ समूहले योजना सहितको प्रस्ताव बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेको थियो । त्यसमा नेपालमा आवश्यक खोपको मात्रा र गर्नुपर्ने प्रक्रिया उल्लेख थियो ।
सो प्रस्ताव मन्त्रिपरिषदमा पारितसमेत भएर स्वास्थ्य, अर्थ र परराष्ट्र मन्त्रालयका तीन सचिवलाई जिम्मा दिएर एक दर्जनभन्दा बढी सम्भावित क्षेत्र र विषय समावेश गरी काम अघि बढाइएको छ । उहाँहरूलाई अन्य विज्ञ समूहले सघाइरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा परेर अभियानका रूपमा प्रयोगमा आउने भएपछि जुनसुकै खोप नेपालले पाउने दाबी डा. अधिकारीले गर्नुभयो । कोभ्याक्स अभियानअन्तर्गत स्वास्थ्य सङ्गठनले अल्पविकसित तथा कम विकसित मुलुकलाई पहिले खोप उपलब्ध गराउने पहिल्यै घोषणा गरिसकेको छ ।
सोअनुसार नेपालले त्यसअन्तर्गत पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप पाउनेछ । उहाँले भन्नुभयो, “त्यो खोप कहिले आउँछ, अहिल्यै भन्न सकिँदैन तर पाउने निश्चित भएका देशले पाउन थालेपछि स्वतः आउँछ । ”
त्यसैगरी खोपमा नेपाललाई सहयोग गरिरहेको संस्था ग्लोबल एलाइन्सले अन्य खोप अभियानमार्फत खोप ल्याउन नेपाललाई सहयोग गरिरहेको छ । अर्कोतर्फ सरकारले रकम तिरेर सरकार आफैँले खरिद गर्नका लागि खोप खरिद कोष नै खडा गरेर प्रक्रिया थालेको जानकारी उहाँले दिनुभयो । त्यसमार्फत २० प्रतिशत बाहिरका नागरिक समेतलाई पुग्ने गरी खोप खरिद गर्ने तयारी भइरहेको छ । –रासस