-के आर विजय
लैङ्गिक हिंसा विरुध्दको १६ दिने अभियान नेपालमा पनि सुरु भएको छ । २५ नोभेम्वर महिला हिंसा विरुध्दको अन्तराष्ट्रि दिवसको दिन देखि अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्वरको दिन सम्म १६ दिन यो अभियान सञ्चालन गरिन्छ ।
यस वर्ष लैंङ्गिक हिंसा अन्त्यको प्रतिबध्दता : व्यक्ति, समाज र सबैको एक्यबध्दता भन्ने मुलनाराका साथ २५ नोभेम्वर २०२० देखि देशभर महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरुभएको हो । म हिंसा गर्दिन सहन्न र प्रतिकार गर्छु भन्ने प्रतिवध्दता सहित सेतो रिवन लगाएर अभियानको सुरुवात गरिएको छ ।
कुनै पनि व्यक्तिमाथि हुने हिंसा व्यक्तिगत रुपमा हुने अपराध हो, मानव अधिकारको हनन् हो भन्ने मान्यतालाई स्थापित गर्दै सोही अनुरुप कार्य गर्न विभिन्न सरोकारवालाहरुलाई ध्यानाकर्षण उदेश्य यस अभियानको रहेको पाईन्छ ।
इतिहास
यो दिवशको सुरुवात सर्वप्रथम डोमिनिकन गणतन्त्रबाट भएको हो । सन १९८१ को नोभेम्बर २५ का दिन डोमिनिकन गणतन्त्रमा यो दिवश विश्वमै पहिलो पटक मनाईएको थियो ।
त्यहाँका महिलाहरु राज्यको शासनबाट यती पीडित थिए कि उनीहरु स्वतन्त्रा पूर्व बस्न, खान र बाँच्न समेत नपाउने बाध्यात्मक अवस्थाबाट गुज्रन बाध्य पारिएका थिए । त्यति वेला महिलाहरुलाई कानुनी रुपमा घरभित्रबाट बाहिर निस्कन बन्देज गरिएको थियो । त्यहाँका महिलाहरु त्यस्तो तानाशाह शासनको अत्य गरी उन्मुक्ति चाहन्थे र त्यसका लागि कठिन संघर्ष गरिरहेका थिए।
त्यसैको नेतृत्व त्यहाँका शिक्षित र सचेत महिलाका रुपमा परिचित पेट्रीय, मिनर्भा र मरिया तीन जना महिलाहरुले गरेका थिए । उनिहरुले नेतृत्व गरेको आन्दोलनले यति विशाल रुप लियो, जसले तत्कालिन शासक त्रुजिलो सरकार दिनप्रतिदिन कमजोर बन्दै गयो ।
अन्याय नसहने स्वभावका उनीहरु तत्कालिन त्रुजिलो तानाशाहीका विरुध्द युध्द गर्न समेत तयार बनेका थिए । सरकार विरुध्द गरिएको त्यो आन्दोलनमा लाखौं लाख मानिसको जन सागर उर्लिएको थियो । त्यहि समयमा त्यहाँको सरकारले तीनैवटी महिलालाई राजद्रोहको आरोप लगाई पटक पटक जेलमा हाल्यो र त्यही तानाशाही सरकाले सन १९६० नोभेम्बर २५ मा तीनै दिदी वहिनीलाई निर्ममता पूर्वक हत्या गर्यो । यस घटनालाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ ।
उक्त हत्या पछि त्रुजिलो सरकार झनै तिरस्कृत हुदै गयो र झन सशक्त आन्दोलन चल्यो । त्यसको १ बर्षमा नै तानाशाही त्रुजिलो सरकारको अन्त्य भयो । त्यसपछि त्यहाँका महिलाहरुले तानशाही सरकारबाट उन्मुक्ति पाई स्वतन्त भए । त्यो घटनालाई महिला माथि हुने हिंसाका रुपमा लिनुका साथै त्यसैको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको दिनलाई अन्तर्राष्ट्रिय जगतमा महिला हिंसा विरुध्द १६ दिने अभियानको रुपमा सञ्चालन हुदैआएको छ ।
नेपालमा १६ दिने अभियान
नेपालमा १६ दिने अभियानलाई विशेष गरी सन् १९९७ देखि मनाउन थालिएको हो । सन् १९९७ देखि हलसम्म आईपुग्दा नेपालमा महिला माथि हुने हिंसाका सम्बन्धमा व्यापक आवाज उठेका छन । यस विचमा महिलामाथि हुने हिंसा न्युनिकरणका लागि सरकारि तवरवाट भएका पहल कदमि, तर्जुमा गरेका नीति नियमहरु र अन्तराष्ट्रिय ईच्छाधिन आलेखहरुमा गरेको प्रतिवध्दताले हिंसा न्युनिकरणमा सहयोग पुगेको देखिन्छ । महिला विरुध्द हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीले यो अभियानमा महत्वपुर्ण सहयोग पुर्यायको पाईन्छ ।
घर भित्र हुनेहिंसालाई घर भित्र सिमित राख्न हुदैन भन्ने मान्यता विस्तारै स्थापित हुने क्रममा छ । देशमा नयाँ संविधान जारी भएसँगै परिवर्तनका संकेतहरु देखा पर्न थालेका भएपनि आशातित परिवर्तनहरु भईसकेको अवस्था भने छैन ।
नेपालमा तीनै तहका सरकारहरुले विभिन्न कार्यक्रम गतिविधिहरु गरि यस अभियान सञ्चालन गर्ने गरेका छन् । स्थानिय तहले यसमा देखाउने सक्रियता अन्य तहको भन्दा तिब्र र प्रभावकारि समेत हुने गरेको देखिएको छ । यद्यपि दिन प्रतिदिन बढ्दै गएका हिंसाका घटनाहरुले कतै हामि अभियानमा मात्र सिमित त भएनौ भन्ने प्रश्न भने खडा गरेको पाईन्छ । अभियानले उजागर गर्ने विषयहरु कसरि व्यवहरिक हुन सक्छन र व्यवहारमा प्रयोगमाआई आशातित प्रगति हासिल गर्न सहयोगि बन्न सक्छन भन्ने विषयमा यसको कार्यान्वयनमा लागेका जिम्मेवार व्यक्ति, निकाय र तहले गहन सोचका साथ लाग्नु पर्ने देखिन्छ ।