~ शोभा शिलवाल
जन प्रतिनिधि भए पछि ,हेर कत्रो फुइँ छ?
राम्रालाई होइन,अध्यक्ष पद हाम्रालाई चाहिन्छ।
सक्षमता हेरिँदैन , आफन्त नै भए पुग्छ
असक्षमलाई अगुवा बनाए संस्था पनि डुब्छ ।
दुःख गरी प्रमाणपत्र लिन किन पढ्नु पर्यो?
नेपालमा नातावाद र कृपावादले गर्नुसम्म गर्यो।
सल्लाहकार आफ्नै मान्छे , मेयर पनि आफ्नै
श्रीमान् र श्रीमती नै सभासद् परिवारवाद राम्रै।
सतहत्तरै जिल्ला ,सातै प्रदेश अफन्तले भर्ने
यिनकै भुँडी भरिँदैन, कैले देशको विकास गर्ने?
अध्यक्ष पद आफूलाई,मेयर छोराछोरी
सल्लाहकार ज्वाइँ ,भानिज ,मन्त्री पद बुहारी ।
आमाका काख रित्ता भए ,सिउँदो पुछियो हाम्रो
टुहुरा भए बालबच्चा ,मुखको खेती खोसियो हाम्रो।
पेन्सन आउन एक वर्ष बाँकी छँदा जागिर छाड्नु पर्यो
नाम मात्रको गणतन्त्र हजुर, जहानियाँ शासनले गर्नुसम्म गर्यो ।
एउटा राजा फाली, टोल टोलमा राजा भाछौ
तिम्रा अगस्तिका जस्ता पेट कहिले भरिन्छ र, देशको विकास गर्छौ ?