आन्दोलनमा ज्यानको बाजी लगाएर ऊर्जा छर्ने कवि पराजुली

आन्कोदोलनको खेला थियो
साँझ साँझको बेला थियो
भोकले भुँडी ठेलम ठेला थियो
तै पनि मभित्र जोश र जाँगरको संयुक्त भेला थियो
नेता बन्ने सुर गर्दै थिएँ 
नेपाल बन्दको पर्चा छर्दै थिएँ 
पछाडिबाट पुलिस आयो, कठालोमा च्याप्प समायो 
पहिलो बोल्यो, ‘दाह्री किन पालेको ?’
दोस्रो बोल्यो, ‘दे दे सालेको !’
तेस्रोले जुरुक्क उचालेर फुत्त फालेको 
अनि पो कविता लेख्न थालेको ।।

२०६२/६३ को दोस्रो जनआन्दोलनमा यस्तै कविताहरूले आन्दोलनकारीको रगत उमाल्ने काम गर्थे । कविताका हरेक हरफ यति शक्तिशाली छन् कि तिनका प्रत्येक शब्दले तत्कालीन निरंकुश शाहीतन्त्रको निद बिथोल्ने गर्दथ्यो र यी हरफका रचयिता हुन् अर्जुन पराजुली ।

जनआन्दोलनका यी सशक्त कविलाई खोज्दै हामी उनको निवासमा पुग्यौं । करीब एक चौथाई फुलेको लामो दाह्री मुसार्दै शान्त भावमा उनले आफूले कविता कसरी लेख्न थालेको भन्दै कविताका केही हरफ सुनाए । उनी यत्तिकै शान्त देखिन्थे, तर कविता वाचन गर्दा कुनै सुनामीले उनीसंग टक्कर गर्न सक्दैनथ्यो । 

त्यतिबेला पराजुलीले रचना गरेका कविताहरू आन्दोलनकारीलाई जुरुक्क उचालेर आन्दोलनको यज्ञमा होम हाल्न पठाउने मन्त्रजस्ता थिए । ‘यी हरफहरू पीडाबाट निस्केका हुन् । तत्कालीन शाही निरंकुशताले आफ्नो सीमा नाघेपछि जनताले पीडा महशुस गर्न थाले र मैले त्यहि कुरालाई कवितामा प्रतिबिम्बित गरेको हुँ । तत्कालीन राजनीतिक अवस्था नै मेरो ठुलो उत्प्रेरक हो,’ उनले भने ।

जनताले आफ्नो ज्यानको बाजी लगाएर सडकमा निषेधाज्ञा तोडेर स्वतन्त्रताको परेड खेलिरहँदा शाही सरकार भने सञ्चार गृहहरूमाथि कब्जा जमाउने अभियानमा थियो । फोनहरू बन्द थिए । एक दुईजना साथिसंगी मिलेर हिँड्न पाइँदैनथ्यो, बन्दुकको कुन्दा कतिबेला आफ्नो टाउकोमा पर्छ भन्ने थाहा हुन्नथ्यो । नेताहरू कोही नजरबन्दमा थिए, कोही देश छोडेर भागेका थिए । नेताहरूको विश्वास जनताले उति साह्रो गर्दैनथे । सीमित मात्रामा कार्यकर्ताहरू भेला हुने कुरा पनि ठूलो थियो । त्यत्रो ठूलो स्वतन्त्रताको आन्दोलन जनताको बलमा जितिएको थियो । 

पराजुली भन्छन्, ‘दुई सय वर्षभन्दा पुरानो राजतन्त्र नै मुख्य बाधक थियो त्यतिबेला । राजतन्त्र हटे सबै ठीक हुन्छ भन्ने लाग्थ्यो । राजतन्त्र हटेपछि के समस्या आउला भन्ने धेरैले सोचेका थिएनन् । समस्या राजनीतिक पार्टीहरूमा पनि थिए, तर निरंकुशता भनेको सबै समस्याको बाउ हो । अहिले हामी स्वतन्त्र ढंगबाट बोल्न पाएका छौं, लेख्न पाएका छौं, त्यो त्यही आन्दोलनको देन हो ।’

त्यतिबेला पराजुलीको एकमात्र उद्देश्य थियो, राजतन्त्र फाल्ने । त्यो उद्देश्य पूरा भएको आज बाह्र वर्ष पुगिसक्यो, तर आम जनताले महशुस गर्ने हिसाबले गणतन्त्र आएन । उदाउँदा जसरी उज्यालो देखिएको थियो, मध्याह्नमा तुवाँलो लागेको अवस्था छ । त्यतिबेला देशलाई ठूलो क्यान्सर लागेको जस्तो भएको थियो । त्यो क्यान्सरको डल्लो निकाल्न पाए सबै ठीक हुन्छ भन्ने लाग्थ्यो । देशलाई फेरी क्यान्सर लाग्ला भन्ने कसैले सोचेनन् । 

राजतन्त्र फाल्ने आन्दोलनमा जिउ ज्यानको बाजी लगाएर सडकमा ऊर्जा छर्ने पराजुलीलाई जनआन्दोलन दमन गर्नेहरूले टाउको उठाउन खोजेको मन परेको छैन । यो या त्यो बहानामा देशको नेतृत्व म लिन्छु, अब काम गर्ने समय आएको छ जस्ता वक्तव्यहरू पूर्व भैसकेका राजाबाट आउनु बिडम्बना नै हो । दुई चारजनाले चाहँदैमा केही हुँदैन, जनताले परिवर्तनलाई संस्थागत गर्न चाहन्छन् भन्ने कुरा त अहिलेको निर्वाचनले देखाइसकेका छन् । उनी राजतन्त्र नफर्किने कुरामा स्पष्ट छन् । 

आन्दोलनमा आफ्नो सहभागितालाई कवि पराजुली यसरी स्मरण गर्छन्, ‘२०६२ सालको चैत्र २६ गते गते पहिलो पटक काठमाडौँमा निषेधाज्ञा जारी भएपछि त्यसलाई तोड्नुपर्छ भन्ने मानसिकताले हामि सडकमा निस्क्यौं । राजाले त्यसो गर्दैछन भन्ने हामीलाई एक दुईदिन अगाडि नै लागेको थियो र त्यो दिन कर्फ्यू लाग्यो । त्यसलाई तोड्न हामीले तयारी गरिसकेका थियौं । कर्फ्यू जारी हुनुभन्दा डेढ दुईघण्टा अगाडि टिचिङ हस्पिटलमा महेश मास्केको अफिसमा हामी जम्मा भयौँ । दिनभरी छलफल गरेर कर्फ्यू तोड्ने भन्ने भइसकेपछि हामी सडकमा निस्क्यौं । पहिला त पुलिस क्लबमा ल्याएर राख्यो र भोलिपल्ट हामीलाई भक्तपुर लगेर राख्यो ।” 

पराजुली सानै उमेरदेखि नै कविता लेख्थे । २०४३ सालको आसपासमा आएर उनले हास्यव्यङ्ग्य लेख्न शुरु गरे । उनका अनुसार त्यतिबेला मान्छेहरूलाई सिधा र प्रष्ट कुरा भन्दा हास्यव्यङ्ग्यको रूपमा आफ्ना रचनाहरू अघि ल्याउँदा बढी प्रभावकारी हुन्थ्यो । पञ्चायतको विरोध गर्नका लागि पनि हास्यव्यङ्ग्य बढी प्रयोगमा आउने गर्दथ्यो । २०५४ सालमा उनले एउटा हास्यव्यङ्ग्यमा आधारित किताब नै प्रकाशन गरेका थिए । 

त्यतिबेला शाही सत्ताको निरंकुशताविरुद्ध प्रत्यक्ष आगो बाल्नेमा पराजुली पनि एक थिए । उनका रचनाहरूले जनतामा स्वतन्त्रताको भोक जगाइदिएका थिए । 

उनी नेपालको करीब ५४ जिल्लामा घुमेका छन् । जहाँ जाँदा पनि मान्छेहरू बटुल्ने काम गरे पराजुलीले । उनको शब्दमा जति दम थियो, स्वरमा त्यो भन्दा कम हुटहुटी थिएन । उनले कविता वाचन गर्न थालेपछि मान्छेहरू अरिङ्गालको गोलोमा जस्तै गरेर झुम्मिने गर्दथे । आफ्ना कविताहरूले मान्छेहरूलाई कसरी आकर्षित गर्ने भन्ने सम्झिँदै उनी भन्छन्, ‘मेरा शब्दहरूले जनताको त्यो बेलाको भावना बोलेर होला, मैले धान्नै नसक्ने आकर्षण मान्छेहरूबाट पाउने गर्दथेँ ।’

जसरी व्यवस्था परिवर्तन गर्न हामीले महत्वपूर्ण भूमिका खेल्यौं त्यसैगरी यसलाई संस्थागत गरेर जनताको हितमा लगाउनुपर्ने काम नेताहरूको हो जस्तो उनलाई लाग्छ । नागरिक समाजले खेल्ने भूमिका त्यति हो, बाँकी नेताहरूको काँधमा आएको छ । लामो संक्रमणपछि देशले स्थायीजस्तो देखिने सरकार पाएको छ, जनताका छोराछोरी राज्यको माथिल्लो तहमा पुगेका छन् । यो नै एउटा ठूलो उपलब्धि हो । अब फेरि कुनै प्रकारको निरंकुशताले टाउको उठाउन खोज्यो भने आफू फेरि सडकमा आउन नहिच्किचाउने उनको भनाई छ । तर त्यो भन्दा पहिला परिवर्तनको विश्वासिलो व्यवस्थापन नेताहरूबाटै हुनुपर्ने उनी बताउँछन् ।

तलका हरफहरूले पनि उनको उर्जा बयान गर्छन् :


‘आज राति शहरमा कुखुराका चल्लाहरू हराएनन् 
आज राति शहरमा भुस्याहा कुकुरहरू कराएनन् 
मलाई अचम्म लागेर सोधें 
ए शहर ! भुस्याहा कुकुरहरू कहाँ गए ? 
शहरले भन्यो- 
शाही निर्वाचनमा भाग लिन !’ 


ताजा खबर