~शोभा शर्मा
चिनको वुहान सहरमा डिसेम्बर २०१९ मा फैलिएको कोरोना भाइरसबाट अहिले विश्व नै आक्रान्त छ । नेपालमा यसको असर परेको छ ।
यसको प्रभाव महिला–पुरुष दुवैलाई परेको छ । अझ नजानिँदो गरी महिलाहरू विभिन्न पक्षबाट अप्रत्यक्ष प्रभावमा रहेको तथ्यांक विश्वका विभिन्न अनुसन्धानले देखाएका छन् । खासगरी, नोकरी, शिक्षा, स्वास्थ्य, सामाजिक सद्भाव, मनोविज्ञान, घरेलु हिंसा, मातृत्व सुरक्षालगायत धेरै पक्षले महिलाहरूका लागि असहज वातावरण सिर्जना भएको छ ।
महिला र शिक्षा
शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्नु भनेको एउटा घर, परिवार, समाज र राष्ट्र नै समृद्ध हुनु हो । हरेक क्षेत्रमा सहजीकरण र सशक्तीकरणका लागि महिला शिक्षा पहिलो कडी हो । शिक्षित महिलाले नै आफ्नो परिवारको स्वास्थ्य, शिक्षा, सुमधुर सम्बन्ध र घरको सुन्दर वातावरणका साथै व्यावहारिक पक्षबाट निर्णय क्षमताको विकास गर्नमा प्रत्यक्ष सघाउ पुर्याउँछन् । नेपालको वि.सं. ०६८ को जनगणना अनुसार साक्षरता ६५ दशमलव ९ प्रतिशत छ, जसमध्ये पुरुष ७५ दशमलव १ र महिला ५७ दशमलव ४ प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत छ । समुदाय, जातजाति विशेष, भूगोल र सामाजिक, आर्थिक स्थितिले पनि यसमा फरक पारेको छ ।
सुविधासम्पन्न सहरमा बस्ने महिला र दुर्गम ग्रामीण क्षेत्रमा बस्नेको अवस्था र आँकडामा अरू बढी खाडल भेटिन्छ । त्यसमा पनि कोरोनाको प्रभावपछि आफ्ना परिवारको स्वास्थ्य सुरक्षाका लागि भनेर निजी क्षेत्रमा कार्यरत धेरै महिलाले नोकरी छोड्नु परेको बाध्यता देखिएको छ । सरकारी क्षेत्रमा काम गर्ने महिलाहरू भने यसबाट सुरक्षित छन् । सामुदायिक विद्यालयमा काम गर्ने शिक्षिकाले अनलाइन कक्षा सञ्चालन नगरी नै तलब पाइरहेका छन् । तर, संस्थागत विद्यालयमा काम गर्ने शिक्षिकाहरूले तलब मागेपछि जागिर गुमाउनु परेको धेरै उदाहरण छन् । निजी क्षेत्रमा काम गर्ने महिलाले घरबाट व्यस्तताका साथ काम गरिरहेको, भर्चुअल माध्यमबाट मिटिङ, सेमिनारमा सहभागिता जनाइरहेका छन् । सरकारी कार्यालयमा काम गर्ने महिलाहरूले भने त्यति धेरै परिश्रम गर्नु नपरेको देखिन्छ । विद्यालय, कलेज बन्द छन् नानीहरूको हेरचाह, उनीहरूको पढाइ, गृहकार्य, अनलाइन कक्षाको समयतालिका अनुसार खानपान लगायतका कुरामा आमाहरूबाट बढी सहयोग रहने गरेको छ ।
आफूले गर्नुपर्ने अन्य कामसँगै छोराछोरीको व्यवस्थापनमा पनि महिला नै बढी खट्नुपरेको छ । घरमा बसेको जस्तो देखिए पनि कार्यालयकै काम, मिटिङ र रिपोर्ट लेखनमा व्यस्त हुने महिलाहरूले झनै फुर्सदको समय नपाएको गुनासाहरू आइरहेका छन् । घरको काम, बालबच्चाको रेखदेख र भान्सादेखि समय तालिकासम्म बाँधिनुपर्ने कारणले महिलाहरू अरू धेरै व्यस्त भएका छन् । पितृसत्तात्मक संस्कारको अभ्यासले त्यसै पनि भान्साको काममा हात नबडाउने पुरुषहरूमा श्रीमती घरमै हुँदा त सहयोग गर्नुपर्छ भन्ने मनोभावना नै आउँदो रहेनछ । काममा सघाउन त परै जाओस् ‘तिमी यति धेरै व्यस्त भयौ है’ भन्ने प्रेम र प्रशंसाका शब्दहरूसमेत नसुनिएको महिला दिदीबहिनीका गुनासहरू पनि छन् । एकातिर शिक्षित महिलाहरूको यो अवस्था छ भने दूरदराजकालाई के कोरोना र के सामान्य अवस्था सधैं घरधन्दा र खेतीपातीमा व्यस्त छन् । त्यस्तै, उनीहरूका लागि के सुरक्षाका उपाय, के सावधानी र गुनासो उही जीवनशैली छ ।
एकातिर सहरका शिक्षित महिला भर्चुअल माध्यमबाट कामकाज गर्दा प्रविधि सिकाइमा अरू थप कुशल भए भने, दूरदराजका महिलाहरूलाई यसले कुनै प्रभाव पार्न सकेन । अझ यो अरू केही वर्ष बाँकी रहने अनुमान गर्न सकिन्छ । त्यसैले औसतमा हाम्रो महिला साक्षरता कति छ र कति पुग्नुपर्छ भन्ने कुरा भुल्नु हुँदैन । अरू समय महिला सशक्तीकरण र महिला आरक्षणका प्राथमिकताबारे चल्ने बहस र कार्यक्रमले यो संक्रमणकालमा पनि स्थान पाउन सक्यो भने सार्थकता मान्न सकिन्छ ।
महिला र स्वास्थ्य
नेपालीहरूको स्वास्थ्यको स्थिति सधैं हुने खाने र भए खानेको अन्तराल उस्तै नै छ । हुने खानेले आफ्नो स्वास्थ्यलाई सन्तुलित भोजन, पोषणयुक्त खानपान, सरसफाइ र मातृत्व सुरक्षामा पनि सचेत भएको पाइन्छ भने ग्रामीण क्षेत्रका महिलाहरू आवश्यक स्वास्थ्य शिक्षाबाटै वञ्चित छन् । सन्तुलित भोजनको अभाव, पोषणको कमी र सरसफाइबारे अनभिज्ञता रहेका कारण अस्वस्थ महिलाको संख्या बढी पाइन्छ ।
स्त्री रोग, प्रजनन र मातृ स्वास्थ्य, पाठेघर खस्ने, फिस्टुला जस्ता रोगहरूले ग्रसित महिलाहरूको तथ्यांक निकालेर स्वास्थ्य क्षेत्रबाट सेमिनार गरी तथ्यांक पेस हुने गरे पनि दूरदराजका महिलाको तथ्यांक त्यसमा नसमेटिएको हुन सक्छ । अहिले कोरोना कहरमा पनि ती ग्रामीण महिलाहरूले यस्ता समस्या भोगिरहेका हुन सक्छन् तर यो समस्या छायामा परेको हुन सक्छ । भौगोलिक विकटता, रगतको अभाव, रक्त अल्पताको समस्या, स्वास्थ्य केद्र र चिकित्सकहरूको अभावका कारण दूरदराजका महिलाहरूले प्रसूति स्वास्थ्य सुविधाको समस्या र ज्यानै गुमाउनुपरेको जोखिमयुक्त परिस्थिति सम्झिँदा कहालीलाग्दो अवस्थाको नजर आउँछ ।
यस्ता कतिपय असुविधाका कारणले मातृ मृत्युदर बढ्दो अवस्थामै छ । समस्या हुँदा पनि खुलेर अभिव्यक्त गर्न नसक्ने कारणले कतिपय रोगहरू लुकाएर बसेका हुन्छन् । छाउपडीको संस्कार र परम्परालाई निर्मूल गर्न नसकिएको अवस्थाले गर्दा सिर्जना हुन सक्ने संक्रमित रोगहरूको वृद्घि जस्ता समस्याहरू बढ्दै जाने सम्भावना रहन्छ । कोरोना कहरमा पनि महिला र स्वास्थ्य त्यसमा ग्रामीण क्षेत्रका महिलामा स्वास्थ्य अनभिज्ञता र उनीहरूप्रति सचेतनाको अभियान जारी रहन सके मात्र उत्तरदायित्वको साथर्कता महसुस गर्न सकिन्छ ।
महिला र मनोविज्ञान
संस्कार र व्यवहारले नै महिलालाई जहिले पनि जिम्मेवार र सहनशील बनाएको हुन्छ । आफ्नो परिवारको खुसीका लागि कतिपय पीडाहरू दबाएर अनुहारमा खुसी देखाउने प्रयत्न गरिरहेका हुन्छन्, महिलाहरू चाहे शिक्षित होऊन् या अशिक्षित । एउटा बच्चाले जति नजिकबाट आमालाई चिन्छ र आमाका सिकाइ र अभ्यासबाट उसको विकास हुँदै जान्छ त्यो शिक्षा कुनै विश्वविद्यालयबाट प्राप्त शिक्षासँग तुलना नै हुँदैन । यति हुँदाहुँदै पनि महिलाको आफ्नो निजता, आफ्नो स्वभाव, खुलेर जीउने, खुलेर हाँस्ने, खुलेर आफ्ना कुराहरू अभिव्यक्त गर्न सक्ने र राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्न सक्ने अवस्था नरहेको महसुस गर्न सकिन्छ धेरै महिलाको मनोविज्ञानबाट । म जस्तो छु त्यस्तो होइन, म कस्तो भएर अरूलाई राम्रो राख्न सक्छु र अरूको अगाडि असल भएर चिनिन सक्छु भन्ने मनोविज्ञानलाई महिलाहरूले आत्मसात् गरिरहेको पाइन्छ । यो मनोवैज्ञानिक स्वभाव सहरका शिक्षित महिला र ग्रामीण क्षेत्रका महिलामा तात्त्विक भिन्नता पाइन्न ।
कोरोना कहरमा अरू भय, त्रास, व्यक्त गर्न नसकिएका भावना, घरेलु हिंसा जस्ता असामान्य स्थितिबाट गुज्रिनुपरेको कुराहरू समाचारमा समेत आइरहेका हुन्छन् । यस्तो संक्रमणकालीन अवस्थामा महिलाले स्वयंलाई धैर्य, शान्त, स्वस्थ र संयम राख्ने कला सिक्नुको विकल्प छैन । स्वयंको खानपान, योग, ध्यान, शारीरिक व्यायामलाई समय छुट्ट्याएर आफ्नो मनोबल उच्च राख्ने कोसिस गर्नुपर्दछ । किनभने, एउटी आमाको स्वस्थ जीवनशैली र खुसीले नै छोराछोरी र परिवारमा सकारात्मक प्रभावका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
लेखक शर्मा सफल नेपाल साप्ताहिक तथा saphalnepal.com की सम्पादक हुन् ।