डा. प्रकाशराज रेग्मी, (मुटुरोग विशेषज्ञ)
अण्डाको पहेँलो भागमा कोलेस्टेरोल धेरै हुन्छ । यसकारण मुटुरोगीले खान हुँदैन भन्ने धारणा धेरैको रहिआएको छ । धेरैले त पहेँलो भाग फाल्ने र सेतो भाग मात्र खाने गर्छन् । डाक्टरहरुले पनि फरक–फरक सल्लाह दिन्छन् । एकथरी डाक्टरले ‘अण्डाको पहेँलो भागमा राम्रो कोलेस्टेरोल हुन्छ, यसकारण यसले फाइदा गर्छ, मजाले दैनिक दुईवटा अण्डा खाए हुन्छ’ भन्ने सल्लाह दिन्छन् । अर्को थरी डाक्टरले ‘पहेँलो भागमा नराम्रो कोलेस्टेरोल हुन्छ, यसकारण मुटुरोगीले नखानू’ भनी खबरदारी नै गर्छन् । वैज्ञानिक अनुसन्धानहरुको नतिजामा पनि एकरुपता छैन । एकथरी अनुसन्धानहरु अण्डाको पहेँलो भागले फाइदा गर्छ भन्ने निष्कर्षमा छन् भने अर्को थरी बेफाइदा गर्छ, त्यसैले जति सक्यो कम खाँदा बेस भन्ने निष्कर्षमा छन् । डाक्टर र वैज्ञानिकहरु नै दोधारमा भएपछि सर्वसाधारण जनता किन अन्योलमा नपरुन् ? आजसम्म उपलब्ध अनुसन्धानका नतिजाहरु र मेरो अनुभव अनि विश्लेषणमा यो अति महत्वपूर्ण र व्यावहारिक विषयका बारे
धारणा राख्दै छु ।
एउटा अण्डाको पहेँलो भागमा १ सय ८५ मिलिग्राम कोलेस्टेरोल हुन्छ । सेतो भागमा कोलेस्टेरोल पनि हुँदैन । यसमा प्रोटिन हुन्छ । कोलेस्टेरोलका अतिरिक्त एउटा अण्डामा १.५ ग्राम स्याचुरेटेड फ्याट (मुटुका लागि हानिकारक पौष्टिक तत्व), भिटामिनहरु, ६ ग्राम प्रोटिन र ७२ क्यालोरी शक्ति पाइन्छ । एक स्वस्थ व्यक्तिले दैनिक ३ सय मिलिग्रामसम्म कोलेस्टेरोल खान सुरक्षित मानिन्छ । मानिसले अण्डाबाहेक अन्य खानाबाट पनि प्रशस्त कोलेस्टेरोल खाने गर्छन् । जस्तै– मासु, घिउ, दूध, बोसो आदि । यसरी दैनिक एउटा अण्डा र दूध, घिउ, मासु आदि खाँदा कोलेस्टेरोलको मात्रा ३ सय मिलिग्रामभन्दा बढी हुन पुग्छ । यदि अण्डाबाहेक अन्य खाना कम कोलेस्टेरोलयुक्त (जस्तै– सागसब्जी, गेडागुडी, फलफूल) छ भने दैनिक एउटा अण्डा खाँदा पनि कोलेस्टेरोल ३ सय मि.ग्रा.भन्दा कम हुन आउँछ । विज्ञानका हिसाबले यतिसम्म सुरक्षित मान्न सकिन्छ ।
हामीले खानाबाट लिएको कोलेस्टेरोल सोझै रगतमा पुगेर कोलेस्टेरोल बढाउने होइन । कोलेस्टेरोल कलेजोमा बन्छ अनि रगतसँगै बग्छ । यो कलेजो, नसा, दिमाग आदिका लागि चाहिन्छ । रगतमा चहिनेभन्दा बढी कोलेस्टेरोल भयो भने यो रक्तनलीको भित्री भित्तामा जम्छ र रक्तनलीलाई बिस्तारै साँगुरो बनाउँदै जान्छ । कोरोनरी मुटुरोगको प्रमुख कारण यही हो । कोलेस्टेरोल जमेर साँगुरो भएको रक्तनली कुनै पनि बेला पूर्णरुपले बन्द भई हृदयघात, मस्तिष्कघात हुन सक्छ । यसका कारण मानिसको मृत्यु हुन सक्छ । कोलेस्टेरोलसँग डराउनुपर्ने कारण यही नै हो ।
अण्डा र कोलेस्टेरोलसम्बन्धमा नयाँ कुरा के छ भने, हामीले खानामार्फत खाएको कोलेस्टेरोलले रगतमा कोलेस्टेरोल खासै बढ्दैन । खानामा भएको कोलेस्टेरोलको जम्मा २० प्रतिशत मात्र रगतमा पुग्छ, अरु सबै कलेजोले पचाइदिन्छ । रगतमा कोलेस्टेरोल बढाउने खाना भनेको स्याचुरेटेड फ्याट –घिउ, मासु, बोसो, मख्खन, दूध आदि) र ट्रान्स फ्याट (धेरैपल्ट तताएको चिल्लो) हुन् । यसकारण अण्डा खाएर कोलेस्टेरोल कमै मात्र बढ्छ, तर स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटबाट धेरै बढ्छ । सबैभन्दा खतरनाक ट्रान्स फ्याट हो, जुन तारेको र तयारी खाना (जंकफूड) मा धेरै पाइन्छ ।
अर्को नयाँ कुरा यो छ कि चिल्लो खाना खाएपछि रगतमा कोलेस्टेरोल बढ्ने वा नबढ्ने भन्ने कुरा मान्छेपिच्छे फरक–फरक हुन्छ । कसैले दिनदिनै एक कचौरा घिउ र ३ वटा अण्डा खाए पनि रगतमा कोलेस्टेरोल बढ्दैन भने कसैले दैनिक एउटामात्र अण्डा खाँदा पनि त्यसले रगतमा कोलेस्टेरोल बढाउँछ । यसलाई जेनेटिक्स भनिन्छ । यो जन्मदा ल्याएको एक विशेष शारीरिक स्थिति हो । प्रत्येक व्यक्तिले आफ्नो जेनेटिक्स कस्तो छ, त्यो बुझ्नु जरुरी छ । कोलेस्टेरोलका हिसाबले तपाईंको जेनेटिक्स राम्रो छ (चिल्लो र कोलेस्टेरोलयुक्त खाना खाँदा पनि रगतमा कोलेस्टेरोल खासै बढ्दैन) भने तपाईंले मन फुकाएर चिल्लो खाना खान सक्नुहुन्छ । तर यो चिल्लोले क्यालोरी धेरै दिने हुनाले शरीरमा बोसो लाग्न सक्छ र तौल बढ्न सक्छ, जसका कारण मधुमेह, उच्च रक्तचाप आदि समस्या उत्पन्न हुन सक्छन् ।
यसकारण यो चिल्लोलाई पचाउन आवश्यक मात्रामा शारीरिक व्यायामको आवश्यकता पर्दछ । जेनेटिक्स राम्रो छ भन्दैमा धेरै चिल्लो खाने तर व्यायाम नगर्नु ठीक होइन । जसको जेनेटिक्स नराम्रो छ, उसलाई थोरै चिल्लो र थोरै कोलेस्टेरोलयुक्त खानाले पनि रगतमा धेरै कोलेस्टेरोल बढाउँछ । उसले जति कम चिल्लो र कोलेस्टेरोलयुक्त खाना खायो त्यति राम्रो हुन्छ । साथै व्यायाम पनि अनिवार्य गर्नुपर्छ ।
चिनियाँहरुको जेनेटिक्स राम्रो छ, यसकारण चीनमा गरिएको अण्डासम्बन्धी एउटा धेरै ठूलो अनुसन्धानबाट दैनिक २ वटासम्म पूरा अण्डा खाँदा पनि मुटुलाई कुनै खराबी गर्दैन भन्ने नतिजा निस्कियो । युरोपेलीहरुको कोलेस्टेरोलको जेनेटिक्स नराम्रो छ । त्यहाँ हप्तामा ३ वटासम्म मात्र अण्डा खाने सल्लाह दिइन्छ । त्यहाँ गरिएको अनुसन्धानले दैनिक एउटा अण्डा खाँदा पनि मुटुलाई क्षति पुग्ने देखाएको छ । नेपालीहरुको कोलेस्टेरोलको जेनेटिक्स कस्तो छ ? यो हामीलाई थाहा छैन, अनुसन्धान भएको छैन । नेपालीहरुले दैनिक कति वटासम्म अण्डा खानु सुरक्षित छ भन्ने सम्बन्धमा मेरो राय–सुझाव यस प्रकार छ ।
१. १८ वर्षभन्दा कम र ८० वर्षभन्दा बढी उमेरको व्यक्तिले यदि पच्छ भने दैनिक २ वटासम्म अण्डा खान सक्छन् । यी उमेर समूहमा पर्ने व्यक्तिहरुलाई कुनै प्रकारको मुटुको रोग छ भने पनि अण्डा खान डराउनुपर्दैन ।
२. उच्च रक्तचाप, मधुमेह, कोरोनरी मुटुरोगलगायत अन्य मुटुका रोगबाट पीडितहरुले दैनिक एउटा अण्डा खान सक्छन् । तर अरु चिल्लो र बोसोयुक्त खाना घटाउनुपर्छ ।
३. रगतमा कोलेस्टेरोलको मात्रा धेरै छ, वंशाणुगत हिसाबले हृदयघात हुने सम्भावना बढी छ अथवा हृदयघात भैसकेको छ भने त्यस्ता व्यक्तिहरुले २ दिनमा एउटा अण्डा खानु सुरक्षित मानिन्छ ।
४. रगतमा कोलेस्टेरोलको मात्रा अत्यधिक बढ्ने जेनेटिक्स खराब भएका व्यक्तिहरुले अण्डाको पहेँलो भाग नखानु उत्तम हुन्छ ।
अन्त्यमा, अण्डामा पौष्टिक तत्वहरु धेरै भएको हुनाले यो स्वास्थ्यका लागि फाइदाजनक छ । मुटुरोगी हो भन्दैमा अण्डा खानै नहुने भन्ने धारणा गलत छ । आफ्नो शारीरिक र जेनेटिक्सको अवस्थाबारे विचार गरी दैनिक कति वटासम्म अण्डा खानु सुरक्षित छ ? त्यो सबैले जानिराख्नु आवश्यक छ ।