कोरोनाविरुद्ध खोप अभियान प्रधानमन्त्रीले शुभारम्भ गर्ने

कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल शुभारम्भ गर्नु हुने भएको छ ।

शुभारम्भसँगै पहिलो चरणअन्तरगत देशभरका खोप केन्द्रहरुबाट खोप अभियान सुरु हुने छ । पहिलो चरणमा करिब चारलाख तीस हजार व्यक्तिहरुलाई खोप लगाउने तयारी सरकारले गरेको छ, जसमा खोपको पहिलो मात्रा करिब सात देखि दश दिनमा दिइसक्ने लक्ष्य सरकारको छ । पहिलो मात्रा दिएको चार सातामा दोस्रो मात्रा दिइने छ । पहिलो चरणका लागि आएको जम्मा दशलाख खोप मध्ये लक्षित वर्गको संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशका लागि खोप छुट्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था पनि सरकारले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । साथै खोप लगाउने व्यक्तिलाई परिचय पत्र दिने व्यवस्था गरिएको छ। त्यही परिचय पत्रको आधारमा मन्त्रालयले खोपको दोस्रो मात्रा सम्बन्धित व्यक्तिलाई दिने छ । –रासस


ताजा खबर