सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको कुनै एक छिमेकीसँगको सम्बन्धले अर्को छिमेकी वा मित्र राष्ट्रसँगको सम्बन्धलाई असर नगर्ने स्पष्ट पार्नुभएको छ ।
यही कार्तिक ५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री बाँकोटाले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण लगायत चीनसँगको सम्बन्धमा देखिएका पछिल्ला घटनाक्रमले अर्को छिमेकी राष्ट्र भारत तथा अमेरिका लगायतका मित्र राष्ट्रहरूसँगको सम्बन्धमा कुनै असर नपर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री बाँस्कोटाले नेपालको विकास र समृद्धिका क्षेत्रमा छिमेकी तथा मित्र राष्ट्रहरूबाट पर्ने सकारात्मक प्रभाव र सहयोगको नेपाल सरकारले सधैं स्वागत गर्ने बताउनुभयो ।
मन्त्री बाँकोटाले पत्रकारको अर्को प्रश्नको जवाफमा विप्लव समूहले नेपालको संविधान स्वीकार गरी हित्सात्मक गतिविधि छोडेमा सरकार वार्ताको लागि तयार रहेको बताउनुभयो ।
हिंसात्मक क्रियाकलाप नछोड्दा सम्म विप्लब समूहले वार्ताका लागि राखेका पक्राउ परेका नेता कार्यकर्ताहरू रिहाई र प्रतिबन्धको फुकुवा लगायतका सर्तहरू सरकारले स्वीकार गर्न नसक्ने मन्त्री बाँकोटाले स्पष्ट पार्नुभयो ।
पत्रकारको अर्को जिज्ञसामा मन्त्री बाँस्कोटाले सुशासन र कानुनीराज स्थापनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै विभिन्न फौजदारी अभियोगमा पक्राउ परेका उच्च पदस्थ व्यक्तिहरू कसैले पनि कानुनी उन्मुक्ती नपाउने समेत स्पष्ट पार्नुभयो ।
रासस