~ बिनोद आधिकारी
सुर्तीजन्य पदार्थ प्रयोग गर्नेहरूको सङ्ख्या विश्वव्यापी रूपमा बढेपछि यो सिङ्गो मानव समुदायकै समस्याको रूपमा देखा परेको छ । यस्तो पदार्थको सेवनबाट क्यान्सर, मुटुको रोग, मधुमेह र फोक्सोसम्बन्धी रोगका सङ्क्रमण वृद्धि भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हाल धूमपान गर्नेहरूको सङ्ख्या करिब एक अर्ब ३० करोडभन्दा बढी छ । बर्सेनि यसको सेवनबाट हुने क्यान्सरको कारण ९६ लाख मानिसको मृत्यु हुने गरेको छ । धूमपान गर्नेले आफू मात्र हैन आफू नजिककालाई पनि असर पारिरहेका हुन्छन् । अरूले गरेको धूमपानको धुवाँको असरले क्यान्सरका साथै अन्य विभिन्न रोग लाग्छ, जसलाई अप्रत्यक्ष धूमपान गर्ने भनिन्छ । यसको असरले बर्सेनि छ लाख मानिसको मृत्यु हुने गरेको छ ।
सुर्तीजन्य पदार्थको असरले हरेक १० जनामा एक जनाको र प्रत्येक ६ सेकेण्डमा एक जनाको मृत्यु हुने गरेको छ । यिनीहरूमध्ये पनि करिब ८० प्रतिशतको मृत्यु त हाम्रोजस्तो विकासशील देशहरूमा
हुने गरेको छ ।
विश्वमा बर्सेनि सुर्तीजन्य पदार्थबाट दुईसय अर्ब डलरभन्दा बढी राजस्व सङ्कलन हुने गरेको तथ्याङ्क छ । तर यसको नियन्त्रणका लागि एक प्रतिशत पनि खर्च गरेको पाइँदैन । विश्व स्वास्थ्य सङ्गठनअनुसार ७४ वटा मुलुकले अझैसम्म स्वास्थ्य संस्था र शिक्षण संस्थामा सुर्तीजन्य पदार्थको प्रयोगको प्रतिबन्ध लगाउन सकेका छैनन् । विश्वमा भुटान मात्र एउटा यस्तो राष्ट्र हो जहाँं सुर्तीजन्य पदार्थ पूर्ण रूपमा प्रतिबन्ध छ ।
नेपाल धूमपान र सुर्तीजन्य पदार्थका सेवनकर्ता धेरै भएका देशमध्ये पर्छ । एक तथ्याङ्कअनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवन गर्ने १० देखि १४ वर्षको बच्चाहरू २१ हजार छन् भने ३० लाख ४६ हजार १५ वर्ष माथि उमेरका छन् । यसै कारणले गर्दा धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगीहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट बर्सेनि २७ हजार एक सय जनाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्घले गरेको अध्ययनअनुसार नेपालमा चुरोट, बिडीको सेवन गर्नेहरू ३५.५ प्रतिशत पुरुषहरू र १५.५ प्रतिशत महिलाहरू छन् भने सुर्तीजन्य पदार्थको सेवन गर्नेहरू ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला छन् । नेपाली महिला विश्वमा धूमपान र सुर्तीजन्य पदार्थका धेरै सेवनकर्तामध्ये दोस्रो स्थानमा पर्छ ।
विगत दुई दशक यता नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग १२ सय गुणाले वृद्धि भएको तथ्याङ्क छ । नेपालको विपन्न ग्रामीण तहका महिला तथा पुरुषहरूले अशिक्षा वा अज्ञानताले गर्दा धेरै सेवन गर्ने गरेका छन् भने सहरी क्षेत्रमा फेसनको रूपमा, साथी भाइको करकाप, विज्ञापनबाट आकर्षित भएर, तनाव घटाउन वा देखासिखीमा लागेर, सम्बन्ध विस्तार गर्ने निहुँमा जस्ता विविध बहानामा मानिसहरू यो लतमा फस्ने गरेको देखिन्छ । एक अध्ययनअनुसार नेपालमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने अधिकांश व्यक्तिहरूलाई यसको खराब असरबारे थाहा छैन ।
यसको असरका कारणले हाम्रो देशमा मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौलालगायत शरीरका अन्य अङ्गहरूको क्यान्सरहरू, मुटु, मिर्गौला, पेटसम्बन्धी रोगहरू, फोक्सोसम्बन्धी रोगहरू दम, ब्रोङ्काइटिस आदि रोगीहरूको सङ्ख्या दिनहुँ बढिरहेको छ ।
विषाक्त पदार्थको असर
सुर्तीजन्य पदार्थमा विभिन्न किसिमका विषाक्त पदार्थहरू जस्तैः हाइड्रोजन साइनाइड, सल्फरडाइ अक्साइड, कार्बन मोनोअक्साइड, एमोनिया, फर्मलडिहाइडहरू ग्यासको रूपमा रहेका हुन्छन् ।
निकोटिन
सुर्तीजन्य पदार्थमा पाइने नसालु रासायनिक पदार्थ निकोटिनले लत बसाइदिन्छ । यसले गर्दा एकपल्ट धूमपान वा सुर्ती सेवन गर्ने बित्तिकै बानी पर्छ र सो व्यक्तिले छोड्न सक्दैन ।
एक खिल्ली चुरोटमा २० मिलिग्राम निकोटिन हुन्छ र ६० मिलिग्राम निकोटिनको इन्जेक्सन दिँदा मानिसको मृत्यु हुन्छ । तर एक जना मानिसले दिनको २०÷३० खिल्ली चुरोट खाँदा पनि केही हुँदैन कारण आगोले पोल्दा निकोटिनको असर घट्छ र मानिसको पनि सहने शक्ति बढेर असर कम गरेको हुन्छ ।
टार
सुर्तीजन्य पदार्थमा रहेको टार भन्ने पदार्थले सेवनकर्तामा तलतल लगाई राख्ने, एकाग्र नहुने, छटपटी हुने र सेवन गरेको औँलाहरू, दाँतहरू र मुमा दाग बनाउने असर गर्छ ।
कार्वनमोनोअक्साइड
एक खिल्ली चुरोटमा २० मिलिग्राम र एउटा सिगारमा ८० मिलिग्राम कार्बन मोनोअक्साइड ग्यासको रूपमा रहेको हुन्छ । कार्बन मोनाअक्साइडले रगतको हेमोग्लोबिनमा असर गरी कार्बोक्सिहेमोग्लोविन भन्ने पदार्थले रगतमा अक्सिजनको कमीले मृत्यु हुने
गरेको छ ।
एमोनिया
एमोनिया पनि सुर्तीजन्य पदार्थमा ग्यासको रूपमा रहेको हुन्छ । यसको असरले फोक्सो कमजोर बनाई स्वासप्रश्वाससम्बन्धी रोगहरू लगाउँछ र रगतमा असर गरी रगतको कमी एनिमिया भएर मृत्यु हुन्छ ।
लिड
यसको कारणले रक्त कोषहरूमा, मिर्गौलामा, मस्तिष्कमा असर पुगेर शारीरिक तथा मानसिक विकासमा अवरोध आउँछ । ब्युटाडायनको खराब असर ः यसको असरले अाँखा, नाक, घाँटीको समस्या हुन्छ । यसले गर्दा टाउको दुख्ने, अाँखाको दृष्टि कम हुने, रिङ्गटा लाग्ने हुन्छ । यसले गर्दा मुटुमा खराब असर गरी हृदयाघात हुने र फोक्सोको क्यान्सरसमेत
हुने गर्छ ।
एसिटलडिहाइड
यसको खराब असरले गर्दा आँखा, छालामा नराम्रो असर गर्छ । फोक्सोमा रहेको कोषहरूलाई पनि नष्ट गरी मानिसको मृत्युसमेत हुन्छ । यसको साथै आर्सेनिक, क्रोमियम, नाइट्रोसमाइन र बेन्जोपाइरिनजस्ता रासायनिक तìवहरूले मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, पिसाब थैली, मूत्रनली, मिर्गौलालगायत शरीरका अन्य अङ्गहरूको क्यान्सर हुन्छ । धुवाँमा भएका निकोटिन, क्याडमियम, कार्बन मनोअक्साइडजस्ता तìवहरूले प्रजनन प्रक्रियामा समेत असर गर्छन् । अन्य पदार्थमा एसिटोन, निकेल, मर्करी, एक्रोलिएन, एक्रोनाइट्राइल, ब्युटायरअल्डिहाइड, क्याचेकोल, सेलेनियम, प्रिहाइड्रोक्विनोन, प्रिपिओन अल्डिहाइड, हाइड्रोजन साइनाइड, बेन्जिन, बेन्जोपाइरिन, बेन्जोयनथ्रासिन, क्रोटोन अल्डिहाइड, नाइट्रिक अक्साइड, फेनोल, स्टाइन, मिथाइल इथाइल किटोन र क्विनोलिनजस्ता हानिकारक विषालु पदार्थहरूले शरीरको विभिन्न अङ्गमा असर गरी यसबाट क्यान्सर रोगका साथै मुटुसम्बन्धी रोगहरू, पेटसम्बन्धी रोगहरू, मधुमेह हुने, क्षयरोग रोग लाग्ने, फोक्सोसम्बन्धी दम, ब्रोकाइटिस, निमोनिया आदि रोगहरू पनि लाग्छ ।
किशोरावस्थामा धूमपान र सुर्तीजन्य पदार्थको सेवन गरेमा अरू भन्दा २५ वर्ष अगाडि नै मृत्यु हुने गरेको छ । यसको असरले अाँखाको मोतिबिन्दु हुने, नसासम्बन्धी रोगहरू, मुखको गिजा, दाँत तथा हाडसम्बन्धी रोगहरू लाग्ने, कानमा असर गरी श्रवण शक्तिमा ह्रास आई सुन्न नसकिने हुन्छ । सुर्तीजन्य पदार्थबाट तत्काल धेरै असर नपरे पनि यसको दीर्घकालीन असर डरलाग्दो हुन्छ ।
(स्वास्थ्य क्षेत्रका बिबिध विषयमा अध्ययन अनुसन्धानमा सक्रिय लेखक अधिकारी काठमाडौंस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ)