~ शोभा सिलवाल पाण्डे
सृष्टिको खानी हुन् नारी , ममताको केन्द्र पनि
बहाउँछिन् रगत पसिना ,दिनरात केही नभनी ।
समर्पण ,स्नेह र पवित्र,,भाव देखाउने नारी
नुनिला आँसुका ढिका पिई दुग्धामृत पिलाउने नारी ।
समाज सुधारक, वैज्ञानिक पनि बन्न सक्छिन् नारी
नारी विनाको घर बन्छ ,तर्साउने मसानघाट सरी ।
अबला ,अदना नसम्झे हुन्छ, अब नारीलाई
कुवाको भ्यागुतो नबनाए ,निस्किन्छन् सारीलाई।
दुर्गा ,काली ,चण्डी सत्यताको प्रतीक तिनै नारी हुन्
देवताको पालामा पनि तिनले गुन लाएकै हुन् ।
धोबीको कुकुर घरको न घाटको झैँ नबनाऊ
अंश र वंशको अधिकार , अब त नारीलाई पनि देऊ ।
नागरिकता पाउन बाबुको नाम लेख्नै पर्ने बाध्यता
जमिनको नभई बिउलाई अझ बढी मान्यता ?
गणतान्त्रिक संविधान नारीका लागि आकाशको फल
आमाको नामबाट नागरिकता लिन नपाउने छल।
नयाँ संविधान हात्त्ती आयो फुस्सा भने झैँ भएको
खोई त महिलाहरूले पुरुष सरह अधिकार पाएको?
गैरसरकारी संस्थाले महिलालाई, डलरको खेती बनाए
नारीको हक अधिकार, र तिनका अवस्था जिउँका त्युँ गराए ।
यस्तै रहे नेपाली नारीहरू, पुनः योगमाया बन्न बाध्य हुने
पुरुष प्रधान समाजको चक्रव्यूहबाट बँच्न कठिन बने ।
शिक्षा सभ्यताको चम्किलो, ज्योति प्रदान गर सरकार
यति नगरे , गणतान्त्रिक सरकारको के दरकार ?
हजारौँ बालिका बलात्कृत भए ,न्याय तिनले पाउनुपर्छ
महिला विरूद्धमा लाग्नेलाई, कानुनको दायराभित्र ल्याउनैपर्छ ।