प्रधानमन्त्री के.पी शर्मा ओलीले स्वदेशी उत्पादनको प्रवर्द्धनबाट देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
‘मेक ईन नेपाल स्वदेशी अभियान’ को आज काठमाडौंमा आयोजित एक समारोहका बिच शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस अभियानलाई सफल बनाउने गरी अहिले देशमा पूर्वाधारहरु बनिसकेका र कतिपय बनिसक्ने अवस्थामा रहेकाले अब नेपालले स्वदेशी उत्पादनमा फड्को मार्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मेक ईन नेपाल अभियानलाई सफल बनाउन चाहिने अनुकूल नीति बनाउने के गर्नुपर्ने हो सुझावका साथ सरोकारवालाहरूलाई आउन आग्रह गर्नुहुँदै त्यसलाई सरकारले सम्बोधन गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा उद्योग क्षेत्रको बिस्तारबाट उत्पादनसँगै रोजगारी पनि सिर्जना हुने भएकाले औद्योगिक क्षेत्रको विकास सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यकर वस्तुको उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै यसबाट स्वदेशी उत्पादनको माग बढ्ने र आर्थिकसँगै स्वास्थ्यका दृष्टिकोणले समेत फाइदा हुने बताउनुभयो । –रासस