‘तुक्का जोड्दैमा गीत बन्दैन’: भजनशिरोमणि आचार्य

नारायणगोपाल र म असाध्यै मिल्थ्यौं । उनी अरूको प्रशंसा खासै गर्दैनथे । हाम्रा कमजोरीबारे छलफल हुन्थ्यो । खासमा उनी राम्रा गायक हुन् तर उनको एउटा ठूलो कमजोरी थियो– उच्चारणको । 

३० वर्षदेखि ललितपुर महालक्ष्मीस्थानस्थित घरभित्र एकोहोरो जीवन बिताउन बाध्य छन्, भजनशिरोमणि भक्तराज आचार्य । २०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो । हातले हार्मोनियमका रिडहरू फिट्न सके पनि स्वर र सुर हरायो । आफूले गाएका करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीतलाई साक्षी राखेर उनको जीवन बेसुर बन्यो । सुरमा पकड भएका विशेष गायक भनेर प्रशंसा पाइरहेको उर्वर समयमै क्यान्सरले उनको जिब्रो काटिनु नेपाली संगीतका निम्ति एउटा सुर हराउनुजस्तै हो ।

२०७७ साल मंसिर १५ गते बिहान साढे ११ बजे उनको घर पुग्दा उनी पिंढीमा उठीउठी एक सुरले हातमा तातो पानी खन्याइरहेका थिए । अन्तर्वार्ता गर्छु भनेर १० वर्षदेखि गरिएका अनेक कोसिस आज यथार्थ बन्दै थियो । यसपालि भेट्दा भक्तराज आचार्य अलि हँसिला र स्वस्थ देखिए । नबुझिने कुरा उनका ज्येष्ठ सुपुत्र सत्यराजलाई भन्न लगाएर नसोध्नुपर्ने तर सोध्न मन लागेका कुरा उनलाई सोधेको छु । छेउमै छिन्, उनकी धर्मपत्नी सुशीला आचार्य ।

विसं २०२० मा नेपाल आई रेडियो नेपालमा स्वर परीक्षा पास गरेर किन डुवर्स फर्किनुभयो ?

भारतको डुवर्सबाट १ सय भारु लिएर नेपाल आएको थिएँ । विष्णुप्रसादको रचना र आफ्नै स्वर संगीतमा रेडियो नेपालमा स्वर परीक्षा पास गरें । रेडियोमा गीत रेकर्ड गर्न भने दिइएन । खिचापोखरीको ग्याट्सोको लजमा बस्दा–खाँदा पैसा सकियो अनि डुवर्स फर्किएँ ।

डुवर्समा तपाईं के गर्नुहुन्थ्यो ?

डुवर्सको दुम्सीपाडा चिया बगानमा काम गर्थें । म एक वर्षको हुँदा बुबा बितेपछि २००० सालमा धनकुटाबाट हाम्रो परिवार डुवर्स बसाइँसराइ गर्‍यो । गरिबीका कारण प्राइमरीभन्दा माथि पढ्न सकिनँ । ३ वर्ष प्राइभेट ट्युसन पढेर अंग्रेजी सिकें ।

संगीत कहाँ सिक्नुभयो त ?

म सानैदेखि गाउने, नाच्ने गर्थें, नाटकमा अभिनय पनि गर्थें । चिया बगानमा गीत गुनगुनाउँथें । दुम्सीपाडाबाट सामसिङ चिया बगानमा काम गर्न आएपछि संगीतको विशेष ज्ञान लिने मौका मिल्यो । चिया बगानका हेडक्लर्क डीबी घिसिङ संगीतका पारखी थिए, उनीसँग हार्मोनियम, तबला, गीतार थिए । त्यहीं अभ्यास गरें । उनीसँगै कर्डस्हरू सिकें । २–४ वटा रागहरू पनि सिकें । संगीतको मेरो गहिराइ र अभ्यास त्यहींबाट भयो । स्टाफ नोटेसनचाहिं दिव्य खालिङसँग सिकें ।

तपाईं त २०३० सालमा मात्रै फेरि नेपाल आउनुभयो । १० वर्ष के गर्नुभयो ?

शास्त्रीय संगीतको अभ्यास गरें । चिया बगानमा काम गरें । दु:खजिलो गरेर परिवार पालें । नेपाल आउने पैसा जम्मा गर्दै रहें ।

२०३० सालमा आयोजित देशव्यापी राष्ट्रिय गीत सम्मेलनमा कसरी गीत गाएर प्रथम हुनुभयो त ?

म २०३० साल चैत ५ गते काठमाडौं आएँ । सोही दिन कुमार बस्नेतलाई भेटें । उनले नातिकाजीलाई भनेर रेडियोमा गीत रेकर्ड गर्ने व्यवस्था मिलाइदिए । त्यसको भोलिपल्ट रेडियो नेपालमा नकुलकाजीको शब्द र आफ्नै संगीतमा ‘मलाई जीवन चाहिन्छ…’ बोलको गीत पहिलोपल्ट रेकर्ड गर्ने अवसर प्राप्त गरें । सबैले गीत राम्रो भएको प्रतिक्रिया दिए । त्यसपछि उत्साहित भएर प्रतियोगितामा गाउनका निम्ति नातिकाजी, शिवशंकरसँग मलाई गीत दिनुस् भनी अनुरोध गरें तर उनीहरूले मलाई पत्याएनन् । त्यसपछि अम्बर गुरुङलाई भेट्न प्रज्ञा प्रतिष्ठान गएँ । उनलाई मैले पहिलेदेखि नै चिनेको थिएँ । २०२४ सालमा वेस्ट बंगाल कल्चरको कार्यक्रम गर्ने क्रममा उनी डुवर्स पुगेका थिए । त्यतिबेला मैले हिन्दी र बंगला भाषामा गीत गाएको थिएँ । उनले मेरा गीतहरू सुनेर प्रशंसा गरेका थिए । त्यसैको भरमा म उनीसँग गीत माग्न गएँ । उनले विश्वास गरेर मलाई आफ्नो रचना र संगीत रहेको ‘होसियार यसबखत समयको मुखलाई चिन…’ बोलको गीत दिए । प्रतियोगितामा गाएँ र स्वरतर्फ प्रथम भएँ ।

तपाईं सो प्रतियोगितामा प्रथम हुँदा अम्बर गुरुङ, नारायणगोपाल र बच्चुकैलाश निर्णायक थिए । पछि तिनै निर्णायकहरूसँग तपाईंको प्रतिस्पर्धा र उठबस पनि भयो । साँच्चिकै दोस्ती–दुस्मनी के थियो ?

अम्बर गुरुङसँग त्यसपछि केही गीतमा मात्रै सहकार्य भयो । नारायणगोपाल र म असाध्यै मिल्थ्यौं । उनी अरूको प्रशंसा खासै गर्दैनथे । हाम्रा कमजोरीहरूबारे छलफल हुन्थ्यो । खासमा उनी राम्रा गायक हुन् तर उनको एउटा ठूलो कमजोरी थियो, उच्चारणको । एकपटक नातिकाजीको कोठामा उनलाई मैले उनको उच्चारणबारे भनेको थिएँ । गलत उच्चारणले फरक अर्थ लगाउँछ भन्दै मैले ईश्वरवल्लभको गीत ‘मेरो बेहोसी आज…’ को अन्तरा ‘यो ‘नसा’ जिन्दगीको या हो ‘नशा’ रक्सीको…’ मा उच्चारण एउटै छ । यी शब्दको अर्थ एउटा ‘रक्तनली’ हो भने अर्को ‘मात’ हो । त्यसैले यिनको उच्चारण फरक हुनुपर्छ भन्दा उनी मुसुमुसु हाँसिरहे, कुनै प्रतिक्रिया दिएनन् । नातिकाजी र शिवशंकर मुखामुख गरे । बच्चुकैलाश भने कम बोल्ने, घुलमिल कम हुने स्वभावका थिए । अहिले पनि घरभित्रै छन् क्यार !

आधुनिक गीत गायन प्रतियोगितामा किन भिड्नु भएन ?

होइन, म २०३२ सालको प्रतियोगितामा भिडेको थिएँ । सो प्रतियोगितामा तारादेवी ‘अप्रतियोगी’ को रूपमा सहभागी थिइन् । प्रतियोगिताको नतिजा घोषणा गर्ने क्रममा तत्कालीन सञ्चारमन्त्री जोगमेयर श्रेष्ठले उनलाई प्रथम घोषणा गरेका थिए । वास्तवमा त्यो एउटा जालझेल र ममाथिको अन्याय थियो । त्यसपछि प्रतियोगितामा भाग लिने मन नै भएन ।

कलाकारहरू मदिराका कारण बदनाम हुने गरेका छन् । नारायणगोपाल पनि यसमै जोडिन्छन् । तपाईंहरू त जिग्री, मदिराको लत कत्तिको लाग्यो ?

खासमा नारायणगोपाल, फत्तेमान र म सँगसँगै हुन्थ्यौं । सबैलाई थाहा छ, नारायणगोपालले ट्वाँट खान्थे, मात्नेगरी नै । फत्तेमान उनलाई बाइकमा बोकेर हिंड्थे । मैले एकपटक पुतलीसडकमा नारायणगोपालसँग मात्नेगरी ट्वाँट खाएको थिएँ । त्यो साँझ सँगै रहेका गीतकार रुद्रराज आचार्यले फत्तेमान र मलाई बाइक पछाडि राखेर घर छोड्दिएका थिए । म त्यस्तो धेरै खाने होइन, खाएको भए त रोग लागेर उहिल्यै मरिसक्थें नि !

त्यतिबेला नारायणगोपालका ‘गीतियात्रा’, ‘ब्लु नोट्स’ जस्ता एल्बमहरू निस्केका थिए । तपाईंचाहिं के गरिरहनुभएको थियो ?

मैले पनि एल्बमको तयारी गरेको थिएँ । एउटा भजनको एल्बम ‘समर्पण’ म्युजिक नेपालले २०४३ सालमा निकालेको थियो । २०४४ सालमा म्युजिक नेपालले गजल एल्बमका निम्ति अफर गरेको थियो । थोरै रोयल्टी दिने कुरा गरेपछि मैले त्यसलाई क्यान्सिल गरें । खुद्रा गीत गाउन र संगीत भर्नमै व्यस्त भएँ ।

नेपाली संगीत क्षेत्र र तपाईंको जीवनको कालो दिन २०४६ साल मंसिर १९ को घटनामा जाऊँ । खासमा त्यो दिनको घटना यो उमेरमा आएर नढाँटीकन बताइदिनुस् न !

मैले आजसम्म केही ढाँटेकै छैन । खासमा भएको यस्तो हो– गीतकार कञ्चन पुडासैनीले गोपाल योञ्जनलाई आफ्नो गीतमा संगीत गराएर क्यासेटमा डमी भरी मलाई दिएका थिए । मैले त्यसको रेकर्डिङका लागि अभ्यास पनि गरेको थिएँ । सो गीत सुनाउन त्यस दिन दिउँसो १ बजे काठमाडौंको चक्रपथ, धुम्बाराहीमा कञ्चन पुडासैनी र म गोपाल योञ्जनको घर पुगेका थियौं । गोपाल योञ्जनको बैठक कोठा माथिल्लो तलामा थियो । हामीले दिउँसो १ बजेदेखि बेलुकी सवा ८ बजेसम्म उनलाई भेटेर सो गीत सुनाउन कुरिरह्यौं । हामी आएका छौं भनेर सूचना दिने मान्छेले ‘एकछिन, एकछिन’ भन्दै दिनभर कुराए । मैले कञ्चनलाई ‘जाऔं’ भन्दा उनले ‘एकछिन कुरौं न’ भन्दाभन्दै रात पर्‍यो । भोक–प्यासले लोथ परेका बेला सवा ८ बजे गोपाल योञ्जनले माथि बोलाए । मैले हार्मोनियम बजाएर २–४ चोटि गीत सुनाउँदा १ घण्टाजस्तो बितिसकेको थियो । त्यसपछि हामी घर जान बिदा भयौं । हामीलाई बाइकमा छोडिदिन गोपाल योञ्जनले पूर्ण नेपालीलाई अह्राए । त्यसपछि हामी तेब्बर लोडमा पूर्णको बाइक चढ्यौं । म बीचमा बसें, कञ्चन पछाडि बसे र कञ्चनलाई छोड्न धुम्बाराहीबाट जोरपाटीस्थित उनको घर पुग्यौं । उनलाई छोडेर फर्कंदै गर्दा बौद्धस्थित छिरिङ रेस्टुरेन्टको अगाडि ल्याएर पूर्णले बाइक रोक्यो ।

मंसिरको जाडो छ, अलिकति ट्वाँट खाएर जाऊँ न दाइ भन्यो । मैले यति ढिला भइसक्यो, घर निकै टाढा छ, यो ठाउँ पनि डेन्जर छ, त्यसो नगरौं, जाऊँ भनें । तर, उसले जबर्जस्ती गर्‍यो र भन्यो– त्यसोभए तपाईं हिंडेर जानुस्, नखाईकन म तपाईंलाई पुर्‍याउन सक्दिनँ ! त्यसपछि मैले त्यसोभए म यहीं बस्दै गर्छु, तिमी छिटोछिटो खाएर आऊ भनें । ऊ भित्र पस्यो । म जाडोमा लुगलुग काम्दै त्यहीं उभिइरहें । बस चढेर घर जाऊँजस्तो पनि लाग्यो । तर, साझा बस ९ बजे नै बन्द भइसकेको थियो । त्यहाँबाट हिंडेर ललितपुरको महालक्ष्मीस्थान आउन सम्भव पनि थिएन ।

म बाध्य भएर उसलाई कुरिरहेको थिएँ । करिब २०–२५ मिनेटमा ३ जना मानिस ढुनमुनिंदै मेरोछेउ आए र मलाई भने, ‘ओए, हामीले खाएको पैसा तिर्, नत्र भेट्लास् ।’ मैले मसँग पैसा पनि छैन, अनि मैले तपाईंहरूले खाएको किन तिर्ने ? मात्र भनेको थिएँ, उनीहरूले रक्सीका बोतलले मेरो टाउकोमा हिर्काए । म बेहोस भएँ । अलिअलि थाहा छ, २ जना भागे । होटलको साहु छिरिङ म मरें कि भनेर मलाई हेर्दै थियो । छेउको पुलिस चौकीबाट पुलिस आएर साहुलाई पक्रियो । भोलिपल्ट होस खुल्दा म वीर अस्पतालको बेडमा थिएँ । भएछ के भने रक्सी खाएर पूर्ण नेपालीले पैसा तिर्ने बेलामा बौद्धका त्यतिबेलाका नामुद गुन्डाहरू सूर्यमान श्रेष्ठ र सूर्य मानन्धरले आफूहरूले खाएको बिल पनि तिरिदिन पूर्णलाई धम्क्याएछन् । पूर्णले मेरो बिल त त्यो बाहिर बसेको मान्छेले तिरिदिएको हो, उसैलाई भन्नु नि भनेछ र उनीहरू मसँग पैसा माग्न आएका रहेछन् ।

त्यसपछि घटनाले कुन रूप लियो ? तिनीहरूलाई कारबाही भयो त ?

रेस्टुरेन्टको साहु छिरिङ र गुन्डाका बाउहरूलाई पुलिसले पक्रियो । गुन्डाहरू र पूर्ण नेपाली फरार भए । मेरो सम्पूर्ण उपचार खर्च गुन्डाका बाउहरू र छिरिङ रेस्टुरेन्टको साहुले बेहोरे ।

त्यत्ति कुरा थाहा हुँदा पनि तपाईं किन कानुनी प्रक्रियामा जान सक्नुभएन त ?

कानुनी प्रक्रियामा गयौं तर उनीहरूलाई तोकिएको म्यादभित्र पुलिसले भेट्टाउन सकेन । अर्कोतिर मेरो टाउकोमा १ सय टाँका लगाएर उपचार गरेकाले म निकै शिथिल थिएँ । छोराहरू सानै थिए । श्रीमतीले के गर्नु, क–कसको स्याहार गर्नु ? बाँच्नपट्टि लागियो । आफूले नगरेको गल्तीको सजाय भोग्नु पर्दैन भन्ने मलाई लाग्यो । तर, त्यस्तो भएन ।

त्यसपछि त निको भएर तपाईंले गीत पनि गाउनुभो होइन ?

हो, आरआर क्याम्पसले आयोजना गरेको स्वागत कार्यक्रममा २०४९ सालमा ३ वटा गीत गाएँ पनि– ‘मुटु जलिरहेछ…’, ‘सागर छ गहभित्र…’ र ‘जति चोट दिन्छौ…’ । त्यसपछि जिब्रोमा खटिरा देखापरे । डाक्टरलाई देखाउँदा क्यान्सरको शंका गरे । त्यो चोटको असर जिब्रोमा पर्‍यो ।

भक्तराज आचार्य, देशको एक नामुद गायकको जिब्रो काटिंदा कस्तो भो ?

अहिले म बाबुलाई नै प्रश्न गर्छु, आफ्नै जिब्रो भएन भने कस्तो होला ? पीडालाई शब्दमा भन्न सक्दिनँ । म निर्दोषले ठूलो सजाय पाएँ । खासमा त्यही दिनमा मेरो सक्रिय जीवनमा पूर्णविराम लागेको हो । सर्वनाश भयो भनेर मर्न मन लाग्यो । एम्स (अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज) मा जिब्रो काटिएपछि छतबाट हाम फालेर आत्महत्या गर्न खोजें पनि । सुशीलाले बचाइन् (श्रीमतीतिर हेर्दै) । छोराहरू साना थिए । उनीहरूको माया लागेर आयो । खासमा मेरो यो जीवनभन्दा मृत्यु राम्रो हो तर पनि म बाँचिरहेको छु । जर्मनीमा प्लास्टिक सर्जरी गरेर जिब्रो राख्ने भनेर गएँ । तर, शरीरकै मासु काटेर जिब्रो जोडियो । त्यो खिइँदै गयो । अँ, इ: मेरो जिब्रो छ त (आँ गरेर जिब्रो देखाउँदै) ? त्यतिबेला प्लास्टिक सर्जरी भनेको प्लास्टिकको जिब्रो जोड्ने हो भन्ने मलाई लागेको थियो । आफ्नै शरीरको मासु काटेर जोड्ने भन्ने थाहा पाएको भए म जर्मनी जाने नै थिइनँ ।

३० वर्षदेखि घरमै हुनुहुन्छ । गीत–संगीत कस्ता र कत्तिको सुन्नुहुन्छ ?

अलिअलि सुन्छु । हिन्दी, उर्दू गीत–गजल बढी सुन्छु । नेपाली पनि सुन्छु । छोराहरू सत्य–स्वरूपले आफ्ना गीतहरू सुनाए भने राम्रो/नराम्रो भन्दिन्छु । उनीहरूलाई गाइड गरिरहेको हुन्छु । एउटा मात्रै गीत राम्रो भएर प्रगति हुँदैन । मैले दुइटा गीतमा संगीत पनि गरें, ‘आचार्य’ चलचित्रका ‘आगोको राप जीवन…’ र ‘पर्ख, पर्ख…’ मा ।

नेपाली संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?

सुर, शब्द र संगीतको थोरै ज्ञान भएकाहरूको हालिमुहाली छजस्तो लाग्छ । जस्तो पनि गीत, जस्तो पनि संगीत र जस्तो पनि गायकी हुँदैन । खासमा संगीतमा ‘असुर’ (बेसुरा) हरूको राज छ ।

गीतको पनि साहित्यिक मूल्य हुन्छ । त्यो कस्तो हुनुपर्छ ?

खासमा साहित्यको चेत भएको कविको गीत निकै शक्तिशाली हुन्छ । तुक्का जोड्दैमा गीत बन्दैन । अहिलेभन्दा पहिलाको लेखाइ राम्रो थियो ।

समकालीन कवि, लेखकहरूको संगत र उनीहरूका सृजना गाइएनन् भने त्यो समयको सृजना जीवन्त हुँदैन । तपाईंले आफ्ना समकालीन कविहरूका गीत किन कम गाउनुभयो ?

नगाएको होइन, गाएको छु । ईश्वरवल्लभ, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारीहरूका गीतमा संगीत गरेर गाएको छु । बढी संगत गरेर होला, ईश्वरवल्लभ साँच्चिकै कवि थिए । त्यतिबेलाका कवि, लेखकले गीत त दिन्थे तर राम्रो छैन भन्यो भने अपजस आउने । बरु त्यसको साटो नयाँ प्रतिभाका राम्रा गीत छानेर गाएँ । नयाँ गीतकारहरूको मन नदुखोस् भनेर उनीहरूको गीत गाएँ ।

तपाईंले त ‘चौतारीमा राजा भेटियो…’ भन्ने राजाको गुनगान गाएको गीत पनि गाउनुभयो । तपाईं आजसम्म पनि खरो, कडा स्वभावको क्रान्तिकारी जस्तो हुनुहुन्छ । त्यो गीत राजावादी भएर गाउनुभएको कि के हो ?

वादी–सादी केही होइन म । त्यसरी गाएको होइन । फत्तेमान राजभण्डारी मेरो जिग्री साथी । ऊसँग मैले मेरो संगीतमा ‘सुन राम्रो, चाँदी राम्रो…’ गीत युगल गाएको थिएँ । त्यसैको पैंचो तिर्न उसले संगीत गरेको क्षेत्रप्रताप अधिकारीको गीत ऊसँगै युगल गाएको हुँ ।

पञ्चायतकालमा भक्तराज आचार्य बन्न निकै मिहिनेत गर्नुभयो है !

राधाप्रसाद घिमिरे सञ्चारमन्त्री भएर आएपछि २०३१ सालदेखि रेडियो नेपालमा मासिक २ सय रुपैयाँमा ९ वर्ष ज्यालादारीमा काम गरें । रागवेन्द्रप्रताप शाह सञ्चारमन्त्री भएपछि उनकै तोकआदेशमा सुब्बा बनाइदिए । त्यसको ६ महिनामा अधिकृत भएँ । सुब्बा भएपछि मलाई रेडियो नेपालका शत्रुहरूले जागिरबाट निकाल्न विशेष प्रहरीमा उजुरी पनि दिएका थिए । यो मान्छे भारतीय हो, यसको नागरिकता छैन, यो एजेन्ट हो भनिएको रै’छ उजुरी पत्रमा । त्यतिबेला राममणि रिसाल रेडियो नेपालका सहायक निर्देशक थिए । उनका गीत, भजन मैले गाएको पनि थिएँ । मेरा मिल्ने साथी पनि थिए । उनले विशेष प्रहरी प्रमुखलाई भेटेर ममाथि लगाइएको आरोप मिथ्या भएको बताएपछि मेरो जागिर बच्यो । अधिकृत भएको साढे ११ वर्षपछि राजीनामा दिन लगाइयो । अहिले मासिक ३४ हजार पेन्सन आउँछ । बाँच्नका निम्ति मैले गरेको त्यो संघर्ष भयानक थियो ।

संघर्ष, सफलता, जीवन के रै’छ ?

खासमा जन्मनु नै व्यर्थ छ । केही फाइदा छैन । सफल भयो भने छिर्के हान्छन्, असफल भयो भने कसैले चिन्दैन । केही गर्छु भनेर पनि फाइदा छैन ।

जीवनको सुन्दर पल र स्मरणीय दिन कुन हो तपाईंको ?

म महाअभागी मान्छे हुँ । र, पनि मेरो पहिलो गीत रेकर्ड हुनुलाई नै मेरो जीवनको सबैभन्दा सुन्दर पल र यात्राको सुरुआत मान्छु । यदि गाउन नपाएर डुवर्स फर्किनुपरेको भए मलाई कसैले चिन्दैनथे । म कहानीविहीन मान्छे हुन्थें । भारतीय, पाकिस्तानी गजल गायक मेहेदी हसन, गुलाम अली, सौकत अलीले मेरो गायकीको प्रशंसा गरेर आशीर्वाद दिए । ती दिनलाई म स्मरणीय दिन मान्छु ।

देशको राजनीतिक अवस्था कस्तो लाग्छ ? राजनीतिप्रति यहाँको धारणा के छ ?

मलाई घृणा छ । भ्रष्टाचार छ । आफ्नो पेट भरेर जनतालाई भोकै राख्ने काम नेताहरूबाट भएको छ । भाषण दिने मात्रै हाम्रा लागि हो । यी प्युसाहरूभन्दा त राजा नै ठीक थिए, कम से कम आफ्ना लागि मात्रै नभएर जनताका लागि केही गरेका पनि थिए । अघि नै भनें नि मैले– संगीतमा जस्तै राजनीतिमा पनि असुरहरूकै राज छ ।

कान्तिपुरको‘शनिबार विशेष’बाट साभार


ताजा खबर