स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएको ३ दिन भन्दा बढी समय स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।
मन्त्रालयको आजको कोभिड प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले खोप लगाएपछि केही व्यक्तिमा सामान्य स्वास्थ्य समस्या देखा पर्ने तथा ज्वरो आउन सक्ने भएकाले ३ दिन भन्दा बढी समय ज्वरो आए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न तथा स्वास्थ्य संस्थामा जान अनुरोध गर्नुभयो ।
प्रा.डा. गौतमले खोप लगाएको व्यक्तिले ५ दिनसम्म आराम गर्न र मद्यपान, धूम्रपान नगर्न समेत अनुरोध गर्नुभयो ।
मन्त्रालयले दोस्रो मात्राको खोप लगाएको २ हप्तापछि मात्र खोपले पूर्ण रुपमा काम गर्न थाल्ने भएकोले खोप लगाइसकेपछि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न सवैमा अनुरोध गरेको छ ।
यसैबिच, आज थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर २ हजार ६ सय १५ वटा नमुनाको परीक्षण गर्दा काठमाडौँ उपत्यकामा २२ सहित थप ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ ।
यस्तै आज ७७ जनामा कोरोना सङ्क्रमणबाट निको भएका छन् । यो सँगै हालसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।
तथ्याङ्क अनुसार ९८ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।