निफ्राले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताउनु भयो ।

नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उहाँले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदै छ, नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाइसकेका छौँ ।”

उहाँले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिनुभयो । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरी बोन्ड जारी हुने पनि उहाँले जानकारी दिनुभयो । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठुला विकास पूर्वाधारमा लगानी गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको बताउनु भयो । ठुला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । “यो दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैङ्क हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौँ,” खतिवडाले बताउनुभयो ।

उहाँले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताउनु भयो ।

निफ्राले बैङ्क तथा वित्तीय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैङ्कहरूले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरी बोन्ड तयार गरिएको छ ।

त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरूले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरी जीवन बिमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ ।

नाफिज संवादमा अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि साप्ताहिक रुपमा संवाद कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको थियो ।


ताजा खबर