सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ।
समूह ‘बी’ मा रहेका प्लानिङ र चर्च ब्वाइजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् ।
प्लानिङको यो पहिलो खेल हो भने चर्चको दोस्रो खेल हो । पहिलो खेलमा चर्चले ओसिस क्लबलाई ४-१ ले हराएको थियो ।
दोस्रो खेलमा विरगंज युथ एकेडेमी र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’ को विरगंज र झापाबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
विरगंज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । पहिलो खेलमा विरगंजले सानेपा क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।
झापा भने पहिलो जितको खोजीमा हुनेछ । उद्घाटन खेलमा झापा खालीबारी युथ क्लबसँग २-१ ले पराजित भएको थियो ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।