डा.स्वेच्छा अधिकारी
बिहानको ११ बजे, ड्युटीको दिन, राउण्ड (अवलोकन परीक्षण) मा निर्णय गरिएका कामहरू फत्ते गर्ने क्रममा एनआईसीयुमा हुँदा एक्कासि मेरो ‘स्क्रब डे«स’ को दाहिने खल्तीमा भएको ड्युटी फोन बज्छ ।
फोन हेर्छु त इमर्जेन्सीबाट । ल अब ड्युटीको सुरुवात भइहाल्यो नि भनेर फोन उठाउँछु । मेडिकल अफिसरको फोन सुनिन्छ – दिदी, चार महिनाको बच्चा आएको छ इमर्जेन्सीमा, रगत वान्ता ग¥यो भनेर । आमालाई सोध्दा नाकबाट पनि एकपटक रगत आएको थियो रे, बिहान नाकमा चोट लागेको जस्तो पनि छ । एकपटक हेर्न आउनुस् न ।
गएर हेर्दा, बच्चाकी आमा बोल्छिन् खै बिहान मैले हेर्दा रगत वान्ता गर्दै थियो ।
रुघा, खोकी, ज्वरो केही छ अथवा नाक मुखमा चोट लाग्ने गरी बच्चा लडेको थियो ? शरीरको अरू ठाउँबाट रगत बगेको अथवा बच्चाको हात गोडा सुन्निएको अथवा दिशा पिसाबमा रगत देखिएको थियो ? उनी भन्छिन् “अहँ, बरु बिहान नाकबाट पनि अलिकति रगत आएको थियो” भन्छिन् ।
आफ्नी आमाको काखमा रोइरहेको बच्चालाई म कुराकानीका क्रममा पनि अवलोकन गरिरहेकी थिएँ । संसारकै सुरक्षित लाग्ने आमाको काखमा पनि उसका आँखाबाट असुरक्षाका भावनाहरू आँसुका रूपमा बगिरहेका थिए तर उसका आँखाले मलाई केही भन्न खोजिरहेको जस्तो मलाई लागिरहेको थियो । घाँटीमा झुण्डिएको स्टेथेस्कोप निकालेर म जाँच्ने क्रम अगाडि बढाउँछु । छाती सफा छ, नाकबाट आँखाले भ्याएसम्म घाउ अथवा रगत बग्नुको केही कारण देखिन्न । सर्सर छाम्दा पेटमा पनि केही खराबी भएजस्तो लाग्दैन । आमालाई आश्वासन दिँदै बच्चाको टाउको समात्न र बुबालाई हात खुट्टा समात्न लगाउँछु अनि टङ्ग डिप्रेसरले बच्चाको जिब्रो थिचेर घाँटीको भित्री भाग हेर्छु ।
म आश्चर्यचकित हुन्छु । थुक जम्मा भएको घाँटीको पछाडि भागमा कालो कालो छायाँजस्तो देखिन्छ । थुकको पछाडि कालोकालो काठजस्तो केही लामो कुरा जुन घाँटीको माथिदेखि तलसम्म पुगेको छ । “घाँटीमा केही छ, पछाडि भागमा टाँसिएर बसेको जस्तो लाग्छ । उसले केही चिज मुखमा हालेको थियो र ?” आमालाई सोध्छु । उनी भन्छिन्, “खै थाहा छैन, बाबुलाई छोरीसँग १० मिनेट जति एक्लै छोडेर यसो पसल गएकी थिएँ, आउँदा यस्तो भइराखेको थियो । “छोरी कति वर्षकी भइन् ?” बुबा भन्छन् “तीन वर्षकी ।”
अनि मेरो शङ्का झन् बढ्दैै जान्छ । मैले त्यस बखत इमर्जेन्सीमा अन ड्युटी मेडिकल अफिसर र कन्सल्ट्यान्टलाई पनि हेर्न भन्छु । उहाँहरूले “साँच्चै हो र, खासै राम्रोसँग त देखिएन” भन्नुहुन्छ । होइन मैले मात्र देखेकी पो रहेछु कि भनेर फेरि उही प्रक्रियाले हेर्छु । कालोकालो काठजस्तै केही छ, जुन जम्मा भएको थुककोे पछाडि लुकिरहेको छ ।
मेरो मनले मान्दै मान्दैन, अनि नाक–कान–घाँटीमा अध्ययनरत मेरी साथीलाई फोनमा सबै यथार्थ बताउँछु, परिस्थितिको गम्भीरताका साथ । उनी आएर अवश्य हेर्ने बताउँछिन् । त्यसपछि बच्चाका आमाबाबुलाई आश्वासन दिएर म इमर्जेन्सीबाट बाहिर निस्कन्छु र लाग्छु आफ्नै एनआइसीयु÷पीआइसीयुतिर ।
लगभग २० मिनेटपश्चात् साथीलाई फोन गर्दा थाहा हुन्छ कि कन्फर्मेसनका लागि बच्चालाई एक्सरे गर्न पठाइएको छ । त्यसको लगभग १० मिनेटमा अर्को बिरामीलाई हेर्न म फेरि इमर्जेन्सी जान्छु त देख्छु त्यही बच्चा र उसका आमाबुबा अनि साथमा ‘इन्टर्न’ भाइ जो भन्दै छिर्छन् “अपरेसनलाई तयारी गर्नुप¥यो, फरेन बडी रिमुभल ।”
ममा कौतूहलको सीमा रहँदैन । “एक्सरे भयो त ? के रहेछ ?” उनी भन्छन् “यत्रो ठूलोे किला रहेछ दिदी, भित्तामा ठोक्नेवाला ।” अनि म निशब्द हुन्छु । एक्सरे हेर्छु, लगभग डेढ इन्चको किला बच्चाको घाँटीभित्र, फोक्सोमा जाने तयारी अवस्थामा । त्यसपछि बच्चालाई अपरेसनका लागि लगिन्छ र त्यो किला उसको घाँटीबाट निकालिन्छ ।
बेलुका ६ बजेतिर अपरेसन सकिएपछि बच्चालाई अब्जरभेसनका लागि पीआइसीयुमा भर्ना गरिन्छ । अप्रेसनको जिम्मा हाम्रो नभए पनि पीआइसीयुमा भर्ना गरिएपछि हरेक बच्चाहरू हाम्रो जिम्मेवारी हुन आउँछन् । झन् त्यसमाथि त्यो कलिलो शिशुसँग त एक किसिमको सम्बन्ध नै गाँसिएजस्तो भइसकेको हुन्छ मलाई, जुन म शब्दमा बयान गर्न नै सक्दिनँ । ड्युटी डाक्टर भएको नाताले, अपरेसनपछिको बच्चाको स्थिति परीक्षण गर्न म पीआइसीयु छिर्छु । बच्चा आनन्दले सुतिरहेको हुन्छ ।
म एकछिन उसलाई हेरको हे¥यै हुन्छु । एक्कासि उसको आमाले आँखाभरि आँसु लिएर मेरो हात समातेर भन्छिन् “शायद हजुरले नहेर्नुभएको भए मेरो बाबु बँच्थेन होला । हजुरभन्दा अगाडि तीन–चार जना डाक्टरले उसलाई हेरिसक्नुभएको थियो तर त्यसरी जिब्रोलाई काठले थिचेर, बत्ती बालेर घाँटीभित्र कसैले पनि हेरेको थिएन । मेरो बच्चालाई हजुरले बचाउनुभयो ।” यति भन्दै आँखाबाट आँसु खसाल्दै उनी मलाई नमस्कार गर्छिन् ।
अनि मेरो मनमा अनेकाँै कुरा समुन्द्रका छालझैँ छचल्किन थाल्छन् । शायद उनका यिनै शब्दहरू सुन्न म यो क्षेत्रमा प्रवेश गरेकी रहेछु, शायद यही बालकको ज्यान बचाउन म दिनरात अध्ययनमा लागेकी रहेछु, शायद यही बालकको आमाबाबुको आँसु पुछ्न मेरा आमाबाबुले आफ्ना पसिना बगाएर मलाई चिकित्सक बनाउनु भएको रहेछ ।
मेरा आँखामा पनि हर्षका आँसु भरिन थाल्छन्, अनि म पीआइसीयुबाट
बाहिर निस्कन्छु । ड्युटीमा त्यस दिन जे भयो त्यसले मलाई धेरै कुरा सिकाएको छ । मेरा प्रोफेसरले सधैँ भन्नुहुन्छ “रोगले किताब पढेको हँुदैन, त्यसैले किताबको पानामा लेखिएजस्तो हुबहु लक्षणका साथ बिरामी आउँछ भनेर कहिल्यै नसोच्नू ।’ मजस्तै यस क्षेत्रमा आबद्ध चिकित्सक तथा बिरामीको उपचारमा संलग्न सबै व्यक्तिहरूले यो भनाइ बुझ्नु अत्यावश्यक छ ।
बालबालिका भगवान्को अंश मानिए पनि न त बोल्न सक्छन्, न त लेख्न वा केही इशारा नै गर्न सक्छन् । अझ ऊजस्तो चार महिनाको कलिलो शिशु जसले आफ्नो पीडा केवल रोदनमार्फत हामीमा पु¥याउन सक्छ । कहिलेकाहीँ हामीजस्तो सबै कुरा बोल्ने, बुझ्ने परिपक्व मान्छेलाई त आफ्नो रोग तथा पीडा अरूलाई अथ्र्याउन गाह्रो पर्छ भने ऊ त धर्तीमा पाइला टेकेको चार महिना पनि राम्रोसँग भएको छैन, पीडा दर्शाउने त कुरै छोडौँ । यो सोचौँ हाम्रा गफका बीचमा उसको पीडा कति हामी माझ प्रस्फुटन हुन खोज्दै थिए होलान् । यदि त्यस बखत मैले पनि बच्चा रुनु सामान्य नै हो भनेर त्यसैअनुसार जाँच गरेकी भए शायद यो लेख तपाईंमाझ आइपुग्ने बेलासम्म ऊ यस धर्तीमा नरहने स्थिति पनि सिर्जना हुन सक्थ्यो ।
ठूलो मान्छे हेर्नु र बच्चा हेर्नु त्यसैले त आकाश जमिनको फरक छ । हामी त भन्न सक्छाँै, कुरा नबुझ्नेलाई बुझाउन सक्छाँै, झगडा गर्र्र्छाैं तर बालक त केवल एउटा चल्ने चल्बलाउने सानो मनुष्यमात्र हो, जसले हामी जे दिन्छौँ जे गर्छौं, त्यही स्वीकार्न विवश हुन्छ । असमर्थताको नाममा केवल आफ्ना आँखाबाट दुई थोपा आँसु निकाल्न सक्छ ।
त्यसैले बालबालिकाको उपचार, रोग मनोविज्ञान आदिलाई सामान्य रूपमा नलिऊँ । उनीहरूको हरेक भावनामा डुब्ने कोसिस गरौँ, उनीहरूका हरेक पीडालाई अनुभव गरौँ, उनीहरूका हरेक रोदनलाई आफ्ना मानसपटलमा उतारौँ, अनि मात्र यथार्थ समस्याको सही चित्रण उतार्न सक्छौँ । आमाबाबुले बालबालिकालाई जे समस्या भनेर अस्पताल ल्याउँछन्, त्यसमा मात्र केन्द्रित नभई बच्चाको शिरदेखि पाउसम्म समस्या औँल्याउने कोसिस गरौँ किनकि अब उसको जीवनको निर्णय हाम्रो हातमा हुन्छ । समस्या धेरै सानो हुन सक्छ, तर सही समयमा पत्ता लागेन भने त्यसले भयङ्कर रूप लिन सक्छ । हाम्रो सानो सावधानीले सयाँैं ज्यानहरू जोगिन सक्छन् । त्यसैले त आजसम्म पनि डाक्टर भन्ने वित्तिकै भगवान्को रूप देख्छन्
कैयौँ मानिसहरू ।
एउटा बालक हाम्रो लागि एउटा “केस” होला तर उसको परिवारका लागि ऊ खुशीको लहर हुन्छ, आशाको त्यान्द्रो हुन्छ र उसका आमाबाबुका लागि बुढेसकालको सहारा हुन्छ । यदि त्यसो नहँुदो हो त उसकी आमा मेरो अगाडि त्यसरी आँसु खसाल्थिनन् होला । उसको बुबा मलाई हरेक पटक भेट्दा भगवान् भनेर दुई हात जोड्ने थिएनन् होला ।
ड्युटी सकिने बेला मैले पनि त्यस बालकका आमाबाबुलाई साथमा राखेर सम्झाउँछु । “हामी त केवल उपचारमा कार्यरत चिकित्सक हौँ । उक्त बालकलाई जीवन दिने भगवान् त तपाईंहरू नै हुनुहुन्छ । तर सानो ती वर्षीया नानीको भरमा त्यति सानो बाबुलाई छोडेर अब कदापि ननिस्कनु होला किनकि हरेकपल्ट भाग्यले यसरी नै साथ दिन्छ भन्ने छैन । कतिपय अवस्थामा यस्तै लापरबाहीको शिकार भएर हजारौँ बालबालिकाले अनेक कारणवश ज्यान गुमाउनुपरेको छ । “आफ्नो र आफ्नो बच्चाको ख्याल राख्नुहोला ।” भन्दै ड्युटी सकेर म आफ्नो घरतिर लाग्छु ।
(लेखक धुलिखेल अस्पतालमा कार्यरत हुनुहुन्छ )