सेयर बजारमा बुधबार साढे ६ अर्ब बढीको कारोबार

 बुधवार नेपाली सेयर बजारको सूचक नेप्से ४१ अङ्कले बढेर २५७० बिन्दुमा पुगेको छ ।

कारोबार रकम पनि पछिल्लो एक महिना यताकै सर्वाधिक साढे ६ अर्ब रुपैयाँ भन्दा बढी भएको छ ।पछिल्लो पटक गत महिना फागुन ११ गते ८ अर्ब रुपैयाँको सेयर किनबेच भएपछि कारोबार रकम ४ दिन मात्रै ६ अर्ब रुपैयाँ पुगेको थियो ।

बाँकी दिन ३ देखि ५ अर्ब रुपैयाँ वरिपरि मात्रै कारोबार भइरहेको थियो ।अन्तर बैङ्क ब्याजदर घटेको र तरलता पनि सहज हुने भएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको भनाई छ ।बुधवार साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, एचआइडिसीएल, आएरएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो र कालिका पावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

बुधवार बजारमा २०८ कम्पनीहरूका एक करोड ७० लाख कित्ता सेयरहरू ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएका छन् ।

बुधवार ११ कम्पनीको मूल्य स्थिर रहँदा २१ कम्पनीको मूल्य घटेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ । –रासस


ताजा खबर