प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज शोक वक्तव्य जारी गर्दै उहाँले जोशीप्रति श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली काँग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शोक वक्तव्यमा भन्नुभएको छ, “लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुभएका जोशीले नेपाली काँग्रेसभित्र निष्ठावान्, इमान्दार, जुझारु छवि निर्माण गर्नु भएको थियो ।”

पूर्व मन्त्री तथा संविधानसभा सदस्य जोशीको काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गए राति निधन भएको थियो । विसं २०६४ र २०७० सालमा संविधानसभाका सदस्य रहनुभएका जोशी २०७३ सालमा मन्त्रीसमेत हुनुभएको थियो । –रासस


ताजा खबर