बाङ्लादेश र किर्गिस्तानको ओलम्पिक टीम सम्मिलित ‘थ्री नेसन्स कप’ फूटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। फाइनलमा बाङ्लादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
नेपालका लागि संजोग राई र विशाल राईले गोल गरेका थिए। दुवै गोल पहिलो हाफमा भएका थिए। दोस्रो हाफमा बाङ्लादेशले एक गोल फर्काएको थियो। तर, दुवै टीमबाट थप गोल नभएपछि नेपालले उपाधि जितेको हो।
नेपालका लागि १८औँ मिनेटमा संजोग राई र ४२औँ मिनेटमा विशाल राईले गोल गरेका थिए। बाङ्लादेशका लागि ८१औँ मिनेटमा महबुबुर रहमानले गोल फर्काए। खेलको म्यान अफ द म्याच संजोग राई भए। त्यस्तै मोस्ट भ्यालुएभल प्लेयर्स रोहित चन्द भए।
नेपालको राष्ट्रिय फूटबल टीमले १८ महीनापछि गोल गर्न सकेको हो। सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार सात खेलसम्म गोलविहीन भएकाे थियो। नेपालका लागि गोलको खडेरी संजोग राईले तोडेका थिए। उनले राष्ट्रिय टीमबाट डेब्यू गरेको दोस्रो खेलमा गोल गरेका हुन्।
नेपाली सिनियर टीमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।
यसैबीच यही प्रतियोगिताबाट विराज महर्जनले राष्ट्रिय फूटबल टीमबाट सन्न्यास लिएका छन्। उनले नेपालका लागि डेब्यू गरेको १३ वर्षपछि सन्न्यास लिएका हुन्। उनले अन्तिम खेलमा सात मिनेट मैदानमा बिताए। थ्री नेसन्स कपको फाइनलमा विराज ८९ मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए।