परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै गर्नुभएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र अझ माथि उठाउन महत्त्वपूर्ण योगदान पुर्याएको सरकारले निष्कर्ष निकाले बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्व विषयको जानकारी गराउनुहुँदै परराष्ट्र मन्त्री ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति महोम्मद अब्दुल हमिदको निमन्त्रणमा गर्नुभएको बङ्गलादेशको राजकीय भ्रमणका क्रममा चार महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको समेत जानकारी गराउनुभयो ।उहाँले भ्रमणका क्रममा बंगलादेशबीच पारवहन मार्ग उपभोग गर्ने, दुवै देशको पर्यटन विकासका लागि सहयोग आदान प्रदान तथा पर्यटकीय गन्तव्यबारे प्रचारप्रसार गर्ने, खाद्य तथा वनस्पतिजन्य बस्तुको व्यापार र अन्य विषयमा सहयोग आदानप्रदान गर्ने तथा संस्कृतिको आदान प्रदान गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले दाचुर्लास्थित महाकाली नदिमा भारतीय पक्षबाट निर्माण भइरहेको पर्खालका विषयमा आगामी १२ अप्रिलमा दुई देशका नापी टोलीले स्थलगत अध्ययन गर्ने, पर्खाल ठिक ढङ्गले बनेको छकी छैन, अन्तर्राष्ट्रिय सीमाको सम्मान गरिएको छकी छैन भन्ने विषयमा तथ्य प्रमाण अगाडी सार्ने बताउनुभयो ।उहाँले नेपाल आफ्नो सीमाको सुरक्षाका लागि सधैँ सजग रहेको र तदारुकताका साथ लागि गर्ने समेत स्पष्ट पार्नुभयो ।परराष्ट्र मन्त्री ज्ञवालीले म्यानमार विकसित घटनाका विषयमा नेपाल सरकार गहिरो चिन्ता र चासो रहेको सरकारले शान्तिपूर्ण आन्दोलनमा धेरै नागरिकको ज्यान गएको छ, निर्वाचित सरकारलाई विस्थापित गर्ने गरी भएको घटनाका विषयमा सरकारले स्पष्ट धारणा अगाडी सारेको बताउनुभयो ।उहाँले सर्वोच्च अदालतले पार्टी विभाजन गर्ने गरी फैसला नगरेको र यसअघि नेकपा माओवादी केन्द्रको समर्थनमा सरकार बनेकाले नेकपा एमालेको सरकार संविधानको बाटोमा नै हिँडेको स्पष्ट पार्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाटीले कोरोनाको संक्रमण पुनः बढेकाले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनलाई प्रभावकारी बनाउन नसकिए आगामी जेठ–असारसम्ममा अर्को उच्च विन्दुमा पुग्न सक्ने अनुमान गरिएको बताउनुभयो ।प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्व विषयको जानकारी गराउनुहुँदै स्वास्थ्य मन्त्री त्रिपाठीले रोगको नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै, रोगको शीघ्र पहिचान, आइसोलेसन, शङ्कास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन राख्ने र जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्न सके कोरोनाको महामारीलाई नियन्त्रणमा राख्नुका साथै पर धकेल्न सकिने भन्दै यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताउनुभयो ।
उहाँले महामारी नियन्त्रणका लागि सरकारले आवश्यक नीति तर्जुमा गर्दै लागु गरेको र महामारी नियन्त्रण गर्न सम्पूर्ण सरकार र सम्पूर्ण समाज परिचालनको नीति अनुसार सबै निकायहरूलाई समन्वयात्मक तवरले परिचालन गरेको बताउनुभयो ।स्वास्थ्य मन्त्री त्रिपाठीले कोभिडलाई लिएर त्रसित नभई सतर्क र संवेदनशिल बन्न सबैलाई आग्रह समेत गर्नुभयो ।उहाँले असारसम्म ६० लाख नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने तयारी सरकारकाले गरिरहेको जानकारी संसद्लाई गराउनुभयो ।
स्वास्थ्य मन्त्री त्रिपाठीले कोभिड महामारी सुरु भएयता यो रोगको पहिचान रोकथाम र नियन्त्रणको लागि चैत्र २२ गतेसम्म २२ लाख ८५ हजारभन्दा बढीको प्रयोगशाला परीक्षण गरिसकेको, २ लाख ७७ हजार भन्दा बढीको रोग पहिचान र उपचार र व्यवस्थापन गरेको जानकारी समेत प्रतिनिधिसभा बैठकमा जानकारी गराउनुभयो ।