आठ दिन नौ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज दिउँसोदेखि सुरु भएको छ ।
भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो ।भैरवनाथको पूजा सुरु भएसँगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको भैरवनाथका मूल नाइके लक्ष्मीभक्त घैमसूले बताउनुभयो ।
तीनतले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ ।लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २ सय मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।
बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरूको संलग्नतामा भैरवको नित्य पूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको हो ।
जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याइ फर्काउने प्रचलन छ ।रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।
गत वर्ष कोरोना भाइरसको त्रासका कारणले सामान्य रुपमा विधि गरेर जात्रा सम्पन्न गरिएको थियो ।यो वर्ष प्रशासनले २५ जना भन्दा धेरै भिड् नगर्नु भने पनि जात्रामा भिड हुने भएकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरेको छ ।
जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।